कारोबार


यस्तो छ सातै प्रदेशको अर्थतन्त्रको आकार

यस्तो छ सातै प्रदेशको अर्थतन्त्रको आकार

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १४:१९,

मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मुलुकको संघीय राजधानीसमेत रहेको वाग्मती प्रदेश शीर्षस्थानमा रहेको छ। कूल जिडिपीमा सो प्रदेशको योगदान ३५।८४ प्रतिशत रहेको छ।

केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कूल ग्रार्हस्थ्य उत्पादनमा वाग्मती प्रदेश सबल रहेको देखाएको हो। विभागका अनुसार सो प्रदेशको अर्थतन्त्रको आकार रु १३ खर्ब ५० अर्ब हुने अनुमान गरिएको छ। मुलुकको कूल रु ३७ खर्ब ६७ अर्ब बराबरको जिडिपीमा सो प्रदेशको हिस्सा झण्डै एक तिहाइ बराबर रहेको छ।

यसैगरी कूल जिडिपीमा प्रदेश १ को हिस्सा १५.८२, प्रदेश ५ को हिस्सा १४.१८, प्रदेश २ को हिस्सा १३.७८, गण्डकी प्रदेशको हिस्सा ८.९, सुदूरपश्चिमको हिस्सा ७.२१ र कर्णाली प्रदेशको हिस्सा ४.२७ प्रतिशत रहने विभागले अनुमान सार्वजनिक गरेको छ।

विभागका अनुसार प्रदेश १ को रु पाँच खर्ब ९६ अर्ब, प्रदेश २ को रु पाँच खर्ब १९ अर्ब, वाग्मती प्रदेशको रु १३ खर्ब ५० अर्ब, गण्डकी प्रदेशको रु तीन खर्ब ३५ अर्ब, प्रदेश ५ को रु पाँच खर्ब ५४ अर्ब, कर्णाली प्रदेशको रु एक खर्ब ६१ अर्ब र सुदूरपश्चिम प्रदेशको रु दुई २ खर्ब ७२ अर्ब बराबरको अर्थतन्त्रको आकार हुने अनुमान गरिएको छ।

यस्तै चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा वाग्मती प्रदेश सबैभन्दा कमजोर रहने विभागको अनुमान छ। यस वर्ष सो प्रदेशको आर्थिक वृद्धिदर १।३ प्रतिशतमा सीमित हुने देखिएको छ। प्रदेश १ को ३.४१, प्रदेश २ को २.२८, गण्डकी प्रदेश २.६८, प्रदेश ५ को दुई र कर्णाली प्रदेशको ३।५६ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान छ। आर्थिक वृद्धिमा सबैभन्दा बलियो सुदूरपश्चिम प्रदेश हुने विभागको दाबी छ। सो प्रदेशको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत हुने अनुमान छ।

कोरोनाका कारण मुलुकको समग्र अर्थतन्त्रमा ठूलो समस्या पैदा भएकाले सबै प्रदेशमा त्यसको प्रभाव पर्ने देखिएको छ। सरकारले चालू आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको भए पनि विभागले केही दिनपहिले सार्वजनिक गरेको तथ्यांकमा २.२७ प्रतिशतमा आर्थिक वृद्धि सीमित हुने प्रक्षेपण गरेको छ। सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन गत चैत ११ गतेदेखि लकडाउन गरेको छ। लकडाउनका कारण आर्थिक गतिविधि पूर्णरुपमा ठप्प प्रायः छ।

विभागले चालू आवको वस्तु तथा सेवाको उत्पादनको अनुमान तथा सूचकहरु तयार पार्दा होटल तथा रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्रमा आवको अन्त्यसम्म नै प्रभावित हुने तथा अन्य क्षेत्रका आर्थिक गतिविधि आगामी जेठबाट क्रमशः नियमति हुने विश्वास गरेको छ।

औद्योगिक वर्गीकरणअनुसार आर्थिक क्रियाकलाप हेर्दा गत आव र यस आवमा वाग्मती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी रहेको पाइएको छ। संघीय राजधानी रहेको वाग्मती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी रहेको विभागको भनाइ छ। प्रदेश १, प्रदेश २ र प्रदेश ५ मा व्यापार क्षेत्रको हिस्सा दोस्रोमा रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad