समाज


रेलसेवा सुरु भएसँगै भारतबाट ठूलो संख्यामा नेपाली फर्किंदै, जाेखिम बढ्ने सम्भावना

रेलसेवा सुरु भएसँगै भारतबाट ठूलो संख्यामा नेपाली फर्किंदै, जाेखिम बढ्ने सम्भावना

उजीर कार्की
बैशाख ३०, २०७७ मंगलबार १४:५,

नेपालमा धेरैजसो संक्रमण भारतबाटै आउनेका कारण फैलिरहेका बेला भारतले रेल सेवा सुरु गरेपछि जोखिम थप बढ्ने भएको छ। भारतले मंगलबारबाट आंसिक रुपमा रेल सेवा सुरु गरेको छ। जसका कारण त्यहाँ रहेका धेरै नेपाली स्वदेश फर्किने आँकलन गरिएको छ। 

भारतमा संक्रमण तिब्र रुपमा बढिरहेका बेला सोही मुलुकबाट ठूलो संख्यामा नेपाल भित्रिने उनीहरुको व्यवस्थापन गर्न गाह्रो हुनेछ। भारतका पन्जाव, राजस्थान, दिल्ली र मुम्वईबाट ठूलो संख्यामा नेपाली भित्रिने प्रवासी नेपाली संघ भारतका दिल्ली राज्य समिति सचिव बिमलराज पौडेलले बताए।

संघले भारतमा रहेका नेपालीहरुको अवस्था र उनीहरु यो संकटमा के चाहन्छन् भनेर विभिन्न सहरमा अध्ययन समेत गरेको थियो। अध्ययनका क्रममा डेढ लाख बढी घर फर्किन चाहने नेपालीहरु भेटिएको पौडेलले बताए। नेपालीको अवस्था र उनीहरुको चाहनाका बारेमा संघले नेपालको परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराउने तयारी गरेको छ।

भारतका विभिन्न सहरमा होटलमा काम गर्ने, गाडी तथा ग्यारेजमा काम गर्ने, ड्राइभर लगायत साना उद्योगहरुमा कार्यरत नेपालीको भारत बसाई कष्टपुर्ण बन्दै गएकाले भारतमा रेल चलेसँगै उनीहरु फर्किन सक्ने बताइएको छ।

‘पढ्नका लागि आएकाहरु र भारत भ्रमणमा रहेका कतिपय लकडाउनमा फसेका छन्, उनीहरु अब फर्किन्छन्। नेपालको सीमासम्म आइपुग्न उनीहरुलाई अब समस्या छैन’, सचिव पौडेलले भने।
भारतको संघीय लकडाउन घोषणा गर्नुअघि नै प्रान्तहरुले पहिल्यैबाट लकडाउन कार्यन्वयन गराउँदा धेरै नेपाली स्वदेश फर्किन पाएका छैनन्।

‘यहाँ रहेका धेरै नेपालीलाई खान बस्न समेत समस्या भइरहेको छ। अब कसैले खर्च दिने वाला छैनन्’, पौडेलले भने, ‘रोडमा आउने अवस्था भइसक्यो। सरकारले आफ्नै देश लैजानुपर्छ। सहयोगका भरमा कतिदिन बस्लान्।’

मंगलबारबाट रेल चलाउन थालेको भारतले आन्तरिक उडान पनि सुचारु गर्ने तयारी गरिरहेको छ। रेलका लागि अनलाइन टिकट खुल्ला गरिएको छ। मंगलबार नै उत्तर प्रदेशका मुख्य मन्त्री योगि आदित्यनाथले घर फर्किन चाहने नेपालीलाई पठाउने व्यवस्था गर्न र बस्न चाहनेलाई आवश्यक व्यवस्था गर्न निर्देशन दिइसकेका छन्।

भारतले समेत फर्किन चाहनेलाई सहजीकरण गरिदिने भएपछि अब नेपालमा भारतबाट ठूलो संख्या भित्रिने आँकलन गरिएको छ। तर भारतीय पक्षको सहयोगबिना सीमानामा रोक्न सक्ने अवस्था नरहेको प्रदेश ५ का प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले बताए।

डीआईजी धानुकले भने, ‘यदि ठूलो संख्यामा भित्रिए भने उनीहरुलाई रोक्न गाह्रो हुन्छ, सीमा क्षेत्रमै क्वारेन्टिन बनाएर राख्ने र पछि चेकजाँच गरेर घर पठाउने व्यवस्था गर्नुपर्ने हुन्छ।’

भारतीय बजारमा कार्यरत नेपाली भित्रिए भने उच्च जोखिममा प्रदेश २ पनि पर्छ। जहाँ खुल्ला सीमानाका कारण रोक्न समेत सहज छैन। यसअघि समेत २ हजार बढी लुकेर छिरेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए।

भारतबाट अब थप जोखिम बढेपनि उनीहरुलाई रोक्ने बाहेक आफूहरुसँग विकल्प नरहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताव सिंहले बताए। ‘यताको यतै रहने र उताको उतै रहने भनिएको छ, यसबाहेक अरु निर्देशन हामीलाई आएको छैन। हामीले उनीहरुलाई रोक्ने नै हो’, डीआईजी सिंहले भने।

भारतसँग सीमाना जोडिएका जिल्लामा पछिल्लो दिन संक्रमणको दर बढिरहेको छ। मंगलबार मात्रै ७४ जनामा संक्रमण देखिएको छ। उदयपुर, पर्सा, बारा, कपिलवस्तु, बाँके लगायतका जिल्लामा धेरै संक्रमित भेटिएका छन्। संक्रमितको संख्या २ सय ८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad