गृह मन्त्रालयले यसअघिका सबै पास रद्द गरेको छ। कोेरोना संक्रमणको जोखिम बढ्दै गएको र सवारीको चाप बढी देखिएपछि यसअघिका पास रद्द गर्दै थप कडाइ गर्ने निर्णय गरिएको हो।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार अब उपत्यकाका तीन जिल्लाले समेत गृह मन्त्रालयको अनुमतीबिना पास जारी गर्न नपाउने भएका छन्। प्रशासनबाट जारी भएकै पास देखाएर हिँड्ने सवारीको चाप बढी भएपछि यसअघिका सबै पास रद्द गरिएको हो।
उपत्यका बाहिरका जिल्लाले समेत अन्तर जिल्ला पास जारी गर्न पाउने छैनन्। अर्को जिल्ला जाने पास जारी गर्नु परे त्यो जिल्लाको प्रशासनसँग समेत अनुमती लिनुपर्नेछ।
अब कुनै पनि कार्यालयका कर्मचारीले आफ्नो कार्यालयको परिचय पत्र देखाएर आवतजावत गर्न पाउने छैनन्। बैंक तथा वित्तिय संस्थाका कर्मचारीले समेत राष्ट्र बैंकबाट जारी भएको पास लिनु पर्नेछ। अन्य उद्योगधन्दा तथा कार्यालयले नियामक निकायको पास अनिवार्य देखाउनु पर्नेछ। नयाँ व्यवस्थाका बारेमा मंगलबार साँझ नै सबै सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिइसकेको प्रवक्ता शर्माले बताए।
उपत्यकाका तीनै जिल्लाबाट पास जारी गर्दा गृहको अनुमतीमा पास जारी गरेपछि तीन जिल्लामा आवतजावत गर्न पाइनेछ। सञ्चार माध्यमको हकमा पनि सूचना विभागबाट जारी भएको प्रेस पास अनिवार्य गरिएको छ।
२६ गतेबाट सरकारले लकडाउनलाई केही खुकुलो बनाएको थियो। तर उपत्यकामा सवारीको चाप ह्वात्तै बढेको थियो। मंगलबार मन्त्रिपरिषद्मा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन धेरै खुकुलो बनाएको भन्दै असन्तुष्टी जनाएका थिए।
मंगलबार नै थप ७४ जनामा संक्रमण देखिएपछि थप सतर्कता अपनाइएको हो। संक्रमितको संख्या बढेपछि विभिन्न जिल्लाले निशेधाज्ञा समेत जारी गरेका छन्।
Shares

प्रतिक्रिया