कारोबार


गगनचुम्बी भवन निर्माणमा बढ्दै छ विलासी कार कम्पनीहरूको सोख

गगनचुम्बी भवन निर्माणमा बढ्दै छ विलासी कार कम्पनीहरूको सोख

दुबईमा निर्माणाधीन द बुगाटी रेसिडेन्स (बीबीसी-बिंगाटी प्रोपर्टिज)


समीर हासमी
फागुन २०, २०८२ बुधबार १४:९, काठमाडौँ

उच्च प्रस्तुति र असाध्यै महंगा सुपरकारहरूका लागि पर्यायजस्तै छ बुगाटी। तर अहिले यो विलासी फ्रान्सेली ब्रान्ड ट्रयाकमा नभई गगनचुम्बी भवनको दौडमा छ। 

संयुक्त अरब इमिरेट्सस्थित दुबईको मुटुमा बुगाटीले आफ्नो पहिलो आवासीय टावर बनाउँदै छ। 

विश्वका धनाढ्य र ब्रान्डवाल घरहरूका लागि द्रुतगतिमा उदाउँदो मार्केटप्लेसमा बुगाटी ५२ लाख डलर लागतका सस्ता अपार्टमेन्टसाथ प्रवेश गर्दै छ। 

यस्ता भवन बनाउने कम्पनीहरूमा बुगाटी एक्लो छैन। धेरैले बनाइरहेका छन्। पोस, एस्टन मार्टिनजस्ता समकक्षी कार उत्पादकहरू पनि अपार्टमेन्ट निर्माणमा जुटेका छन्। यस्ता अपार्टमेन्ट पूर्ण फर्निसिङयुक्त हुनेछन् भने कम्पनीका नाम र लोगोले सजिनेछन्। 

यो क्षेत्रमा प्रवेश गरेका अन्य व्यवसायहरूमा स्विस घडी निर्माता ज्याकव एन्ड कम्पनी र इटालीको फेसन हाउस फेन्डी एनड मिसोनी पनि छन्। 

बुगाटीले ४३ तलायुक्त दुबई टावर यूएईकै बिंगाटी प्रोपर्टिजसँगको साझेदारीमा बनाइरहेको छ। बुगाटी रेसिडेन्समा साह्रै महंगो पेन्टहाउस रहनेछ। जहाँ अपार्टमेन्ट मालिकका कारका लागि ठूला र निजी लिफ्टहरू रहनेछन्। आफ्ना कार आफ्नै अपार्टमेन्टमा लगेर पार्किङ गर्ने सुविधा हुनेछ। 

‘धेरै कार र घडीका पारखीका लागि यो केवल गाडी वा समयको टुक्रो किन्ने कुरा होइन। आफ्नो दैनिक जीवनमा रियलइस्टेटबाट ब्रान्डको अनुभव गर्ने कुरा पनि हो’, बिंगाटी प्रोपर्टिजका प्रमुख मुहम्मद बिंगाटी भन्छन्। 

बुगाटी परियोजनाका लागि क्रेता सूचीमा ब्राजिलेली फुटबल स्टार नेइमार जुनिजयर र अपेरा गायक एन्ड्रिया बसेली समेत रहेको बिंगाटी बताउँछन्। नेइमारले एक पेन्टहाउसका लागि ५ करोड ४० लाख डलर तिरेको बताइन्छ। 

बितेका दुई वर्षमा ब्रान्डवाल आवासहरूको विश्वव्यापी माग निकै बढेको नाइट फ्रांक नामक इस्टेट एजेन्ट कम्पनीको प्रतिवेदनले देखाएको छ। 

प्रतिवेदनअनुसार सन् २०११ मा १६९ वटा यस्ता स्किम रहेकामा आज ६ सय ११ पुगिसकेको छ। २०३० सम्म यो संख्या बढेर १०१९ पुग्ने पूर्वानुमान छ। 

अहिले संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी ब्रान्डवाल आवासहरू रहेका छन्। मायामी र न्युयोर्कजस्ता स्काईलाइनका केन्द्रहरूमा यस्ता आवास छन्। नाइट फ्रांकका अनुसार मध्यपूर्व अहिले यस्ता धेरै आवास हुनेमा दोस्रो स्थानमा पर्छ। यहाँ ब्रान्डवाल आवासहरू तीव्र गतिमा निर्माण भइरहेका छन्। कम्पनीका अनुसार यूएई र साउदी अरेबियाहरूमा यस्ता आवास धेरै बनिरहेका छन्। 

‘ब्रान्डवाल आवासहरूले ब्रान्ड पारखीहरूलाई तान्छ। दैनिक जीवनमै ब्रान्ड खोज्नेहरूलाई विशेष तान्ने गरेको छ’, नाइट फ्रांक मिडल इस्टमा अनुसन्धान प्रमुख रहेका फैजल दुरानी भन्छन्। 

सन् २०२४ मा मायामीमा खुलेको एस्टन मार्टिनको आवासीय टावर

सहरी तुलनामा यूएईमा दुबई यस्ता आवासमा अगाडि छ। धेरै यस्ता परियोजना विकास भइरहेको प्रोपर्टी कम्पनी स्याभिल्सको अर्को प्रतिवेदनले देखाउँछ। 

खासगरी धनाढ्यहरू बसाइँ सरी यो सहरमा आउने र विलासी घरहरू किन्नेको संख्या बढिरहँदा यस्ता आवासको मागलाई बढाइदिएको छ। 

दुरानीका अनुसार न्यून कर भएको दुबईमा ब्रान्डवाल अपार्टमेन्टको मूल्य पनि विश्वका अन्य स्थानभन्दा सस्तो छ। सहरमा यस्ता प्रोपर्टीहरूको लागत न्युयोर्क र लन्डनभन्दा साह्रै सुपथ रहेको दुरानीको भनाइ छ।

केही अघिसम्म ब्रान्डवाल आवासहरू विकासमा रिट्ज कार्ल्टन, फोर सिजन्सजस्ता होटल चेनहरू अग्रपंक्तिमा थिए। तर अहिले विलासी ब्रान्डहरूले नयाँ परियोजनाहरूमा धेरै हिस्सा लिनथालेका छन्। 

पोसको डिजाइन टावर मायामीमा सन् २०१७ मा खुलेको थियो। त्यस्तै एस्टन मार्टिनको रेसिडेन्सेज मायामी गत वर्ष खुलेको थियो भने ज्याकव एन्ड कम्पनीको यूएईमा अल मार्जन आइल्यान्ड परियोजना २०२७ मा तयार हुँदै छ। 

यस्ता कम्पनीहरूका लागि रियल इस्टेटले कम जोखिमयुक्त एउटा नयाँ आम्दानी स्रोत उपलब्ध गराउँछ। यसमा प्रोपर्टी डेभलपमेन्ट साझेदारहरूले निर्माणलाई हेर्छन् भने क्रेताहरूले सौन्दर्य र आफ्ना ब्रान्डहरूका लागि प्रिमियम भुक्तानी गर्छन्। 

बिंगाटीका अनुसार ब्रान्डवाल अपार्टमेन्टहरू गैरब्रान्डवाल विलासी घरभन्दा ३० देखि ४० प्रतिशतसम्म महंगा हुन्छन्। धेरै नयाँ ब्रान्ड स्किमहरूमा निजी सदस्यहरूको क्लब, व्यायामशाला र कार र याटहरू (विलासी पानीजहाज)देखि निजी विमान साझेदारीहरूजस्ता अन्य धेरै सेवाहरू हुन्छन्। 

लन्डनमा सिक्स सेन्सेज होटल चेनले बेवाटरमा सिक्स सेन्सेज रेसिडेन्सेज निर्माण भइरहेको छ। यसमा बायोह्याकिङ सेन्टर समेत रहनेछ।

यसले क्रायोथेरापी वा असाध्यै चिसोमा हुने उपचारजस्ता विभिन्न उपचारात्मक सेवा प्रदान गर्नेछ। यसबाट ऊर्जावृद्धिदेखि स्किन टोन बढाउनेसम्मका फाइदा हुने बताइन्छ। 

सन् २०१७ मा खुलेको मायामीमा पोसको डिजाइन टावर (एएफपी/गेट्टी इमेज)

त्यस्तै टेक्ससमा डिस्कभरी ल्यान्ड कम्पनीको आवासीय अस्टिन सर्फ क्लब बन्दै छ। जुन मानवनिर्मित ठूलो ‘सर्फ लगून’ हुने बताइएको छ। 

व्यवसाय र उपभोक्ता मनोवेत्ताहरू विलासी ब्रान्डवाल अपार्टमेन्टहरूमा आएको वृद्धिले सामाजिक सञ्चारका विभिन्न अवस्थाहरूमा मानिसहरूको बढ्दो रुचिलाई प्रतिविम्बित गर्ने बताउँछन्। 

किंग्स कलेज लन्डनमा मार्केटिङकी प्राध्यापिका जियाा एकहार्ड यस्ता आवासीय भवनहरू पछिल्लो समय सामाजिक प्रतिष्ठाको मुद्राको नयाँ स्वरुप बनेको बताउँछिन्। 

‘असाध्यै धनी उपभोक्ताहरूले प्रतिष्ठास्तरको सम्पत्ति र वस्तुलाई धेरै चाहिरहेको देखिन्छ। जुन हरेकका लागि उपलब्ध हुँदैन’, उनी भन्छिन्। 
उपभोक्ता व्यवहारबारे विज्ञ उनी ब्रान्डिङ र उपभोक्ता संस्कृतिले सामाजिक स्तरमा व्यक्तिको स्थानलाई विलासी ब्रान्डले सञ्चार गर्ने उनको भनाइ छ। 

‘उनीहरू यी ब्रान्डहरूसँगै सम्बन्धित भएर सामाजिक प्रतिष्ठा पाउन चाहन्छन्’, उनी थप्छिन्। 

बिंगाटी पनि यस्ता प्रवृत्तिबारे सहमत देखिन्छन्। 

‘ग्राहकहरूले साँच्चै उच्चस्तरीय विशिष्टता पाउँछन्’, उनले भने, ‘हरेक युनिट विशिष्टखालको छ जसले यो ग्रहमै यस्तो अपार्टमेन्ट किन्नुको विशेष अनुभूति दिन्छ।’ 

यद्यपि पर्न कन्डोला कम्पनी यूकेका व्यवसाय मनोविश्लेषक स्टुअर्ट डफ भने धेरै मानिसले यस्ता अपार्टमेन्टहरूको सोचले असल स्वाद नदिनसक्ने बताउँछन्। उनी खासगरी चिने–देखेको ब्रान्ड छ भने त्यस्तो स्वाद मिल्न नसक्ने उनको बुझाइ छ। 

‘अपार्टमेन्टभित्र जहाँसुकै उही ब्रान्डको उपस्थिति छ भने त्यसले फरकपना र दुर्लभताको धारणा घटाउन सक्छ’, उनी भन्छन्। बीबीसीबाट भावानुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad