कारोबार


राजस्व संकलन लक्ष्य १२.३० प्रतिशतले घट्यो, १२ खर्ब ९८ अर्बको संशोधित लक्ष्य

राजस्व संकलन लक्ष्य १२.३० प्रतिशतले घट्यो, १२ खर्ब ९८ अर्बको संशोधित लक्ष्य

नेपालखबर
माघ २७, २०८२ मंगलबार १७:४०, काठमाडौँ

सरकारले राजस्व लक्ष्य घटाएको छ। अर्थमन्त्री रामेश्वर खनालले आर्थिक वर्ष २०८२/८३ अर्धवार्षिक समीक्षा मार्फत राजस्व संकलनको लक्ष्य घटाएका हुन्।

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते बजेट सार्वजनिक गर्दै चालू आवमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने बताएका थिए। 

आज (मंगलबार) अर्थ मन्त्रालयमा चालू आवको अर्धवार्षिक समीक्षा मार्फत अर्थमन्त्री खनालले राजस्व संकलनको लक्ष्य १ खर्ब ८१ अर्ब ९० करोड ९० लाख रुपैयाँ अर्थात १२.३० प्रतिशतले घटाएका हुन्। संशोधित व्यवस्था अनुसार सरकारले चालु आवमा १२ खर्ब ९८ अर्ब ९ करोड १० लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ। यो सुरुवाती लक्ष्यको ८७.७० हो। 

निर्वाचन लक्षित खर्च र आर्थिक क्रियाकलाप एवम् आर्थिक गतिविधि सुधार आउने भएकाले संसोधित लक्ष्य प्राप्त गर्न समस्या नहुने अर्थमन्त्री खनालले बताए। 

भन्सार महशुल ३ खर्ब ५ अर्ब ५७ करोड ५ लाख रुपैयाँ प्राप्ति गर्ने प्रारम्भिक अनुमान रहेकोमा संशोधित अनुमान २ खर्ब ६७ अर्ब ८३ करोड ४६ लाख रुपैयाँमा झारिएको छ। 

मूल्य अभिवृद्धि कर ३ खर्ब ९४ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ प्राप्ति गर्ने प्रारम्भिक अनुमान रहेकोमा संशोधित अनुमान ३ खर्ब ६९ अर्ब १० करोड ३० लाख रुपैयाँ संकलन हुने सरकारको विश्वास छ। 

अन्तःशुल्क २ खर्ब १३ अर्ब १५ करोड ७७ लाख रुपैयाँ प्राप्ति गर्ने प्रारम्भिक अनुमान रहेकोमा संशोधित अनुमान १ खर्ब ९८ अर्ब ५ करोड ४८ लाख रुपैयाँमा झारिएको छ। 

शिक्षा सेवा शुल्क र अन्यमार्फत आर्जन हुने राजस्व भने बढ्ने सरकारको अनुमान छ। ५ अर्ब २३ करोड १३ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएकोमा संशोधित अनुमान ५ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ पुर्याइएको छ। 

आयकर ४ खर्ब ७ अर्ब २ करोड ९२ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको ३ खर्ब २५ अर्ब ५१ करोड ४१ लाख रुपैयाँमा संकलन गर्ने गरी संशोधित लक्ष्य राखिएको छ। 

चालू आवको बजेट मार्फत १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ कर राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा यसलाई संशोधन गरी ११ खर्ब ६६ अर्ब ३० करोड ४८ लाख रुपैयाँ कायम गरिएको छ। 

अन्य राजस्व गैरकर १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएकोमा हाल १ खर्ब २७ अर्ब ७७ करोड ८८ लाख रुपैयाँ उठाउने गरी संशोधन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad