कारोबार


पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी परिचालन बढाउने लगानी बोर्डको तयारी

स्विस च्यालेन्ज र हाइब्रिड एन्युइटी मोडेलमा आधारित हुने
पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी परिचालन बढाउने लगानी बोर्डको तयारी

नेपालखबर
माघ २७, २०८२ मंगलबार १६:८, काठमाडौँ

लगानी बोर्ड नेपालले स्विस च्यालेन्ज र हाइब्रिड एन्युइटी मोडेलमा आधारित भई पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी परिचालन गर्ने कार्य अघि बढाउने भएको छ।

लगानी बोर्ड नेपालले ग्रिन ग्रोथ नेपालसँगको सहकार्यमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानी बोर्डले आह्वान नगरिएका प्रस्तावहरु पनि अघि बढाउने तयारी गरेको  र त्यसका लागि बोर्डले स्विस च्यालेन्ज विधिबाट प्रस्ताव मूल्याङ्कन कार्यविधिको मस्यौदा तयार पारेको जानकारी दिए।

मस्यौदामा जुनसुकै क्षेत्रमा पनि आव्हान नगरिएको प्रस्ताव रूपमा पेश गर्न सकिने र आएका प्रस्तावहरुलाई प्रतिष्पर्धाका आधारमा अघि बढाउन सकिने उल्लेख छ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न तहमा नयाँ नयाँ विषय तथा नवप्रवर्तनहरु भइरहेकाले कार्यविधिबाट व्यवस्थित गर्दा लगानीका क्षेत्रमा वृद्धि हुने विश्वास व्यक्त गरे।

त्यसैगरी हाइब्रिड एन्युइटी मोडेलले सडक, पुल, जलविद्युत, ट्रान्समिसन लाइन, फोहोर व्यवस्थापन जस्ता ठूलो परियोजनाहरु छिटो अघि बढाउन,   सरकार र निजी क्षेत्रको लागत र जोखिम बाँडफाँड गर्न, गुणस्तरीय निर्माण गर्न लगायतमा सहयोग पुर्‍याउनेछ।

बोर्डले हाइब्रिड एन्युइटी मोडेलसम्बन्धी कार्यविधिको पनि मस्यौदा तयार पारेको छ। 

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ६ अर्ब रुपैयाँ वा सो भन्दा बढी लागत भएका सार्वजनिक निजी साझेदारी (पीपीपी) का सबै परियोजनाहरुको स्वीकृत लगानी बोर्डबाट हुने बताए। 

६ अर्ब रुपैयाँ वा सो भन्दा माथिका परियोजनाहरु बोर्डले स्वीकृत गरे पनि विषयगत विज्ञता र क्षमताका आधारमा कार्यान्वयनका लागि अरु निकायलाई पठाउन सकिने धारणा व्यक्त गरे।

‘६ अर्ब रुपैयाँभन्दा तलका परियोजनाहरु सम्बन्धित निकायहरुले बढाउन सक्छन्’, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘लगानी वृद्धि र प्रभावकारी परिणाम महत्वपूर्ण हुन्। त्यसैले आवश्यकताअनुसार विषयगत विज्ञता र प्राविधिक सहयोग लगानी बोर्डले उपलब्ध गराउनेछ।’

उनले सार्वजनिक निजी साझेदारीका परियोजनाहरु अघि बढाउन स्थानीय र प्रदेश सरकारलाई पनि लगानी बोर्डले सहयोग गर्ने जानकारी दिए।

संघ, प्रदेश र स्थानीय तहमा बढी भन्दा बढी लगानी वृद्धि होस् भन्ने पक्षमा बोर्ड रहेको उल्लेख गर्दै उनले जहाँबाट कार्यान्वयन गरे पनि हुने धारणा व्यक्त गरे।

स्रोह्रौँ पञ्चवर्षीय योजनाले लिएका राष्ट्रिय लक्ष्य तथा उद्देश्यहरु पूरा गर्न १ सय १२ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने भन्दै उनले त्यसमा ७४ खर्ब रुपैयाँ निजी क्षेत्रबाट परिचालन गर्नुपर्ने बताए।

निजी क्षेत्रको लक्ष्य हासिल गर्न निकै ठूलो मेहनत गर्नुपर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ। लगानी बोर्डले १४ वर्षमा १७ खर्ब १६ अर्ब रुपैयाँका बराबरका परियोजनाहरु स्वीकृत गरेको छ।

कार्यक्रममा लगानी बोर्ड नेपालका सहसचिव सुनिता नेपालले स्विस च्यालेन्ज विधिले निजी क्षेत्रको लगानी वृद्धिमा थप सहयोग पुर्‍याउने बताए। बेलायती दूतावासका प्रतिनिधि साम फेलले आर्थिक क्षेत्रमा देखा परेको अन्तरलाई कम गर्न र परियोजनाहरुको प्रभावकारी परिणामका लागि सार्वजनिक निजी साझेदारी महत्वपूर्ण भएको बताए। 

कार्यक्रममा स्विस च्यालेन्ज विधि, सार्वजनिक निजी साझेदारी र हाइब्रिड एन्युटी मोडेलसम्बन्धी कार्यपत्र प्रस्तुत गरि विज्ञ र सम्बन्धित मन्त्रालय तथा निकायका अधिकारीहरुबीच छलफल गरिएको थियो। 

कार्यक्रममा सरोकारवाला मन्त्रालय, विभाग तथा निकायका कर्मचारीहरुका साथै विज्ञहरुको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad