सुदूरपश्चिम


मध्यरातमा हवल्दारमाथि बज्रियो खुकुरी, यस्तो छ दार्चुला हत्याकाण्डको भित्री रहस्य

दुई महिलासहित तीन जना पक्राउ
मध्यरातमा हवल्दारमाथि बज्रियो खुकुरी, यस्तो छ दार्चुला हत्याकाण्डको भित्री रहस्य

नेपालखबर
माघ २७, २०८२ मंगलबार १६:१५, कञ्चनपुर

दार्चुलामा मृत भेटिएका प्रहरी हवल्दार योगेन्द्र बहादुर घर्तीको हत्या भएको खुलेको छ। महाकाली नगरपालिका–४ बांगाबगरमा घर्तीको धारिलो हतियार प्रहार गरेर सोमबार राति हत्या भएको हो। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार हत्या आरोपमा दुई महिलासहित तीन जना पक्राउ परेका छन्। 

महाकाली नगरपालिका–४ की २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र एक नाबालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदमबहादुर बिष्टले बताए।

उनका अनुसार घटनामा संलग्न आशिक पालसहित ३/४ जना अझै फरार छन्। उनीहरुको खोजी कार्य भइरहेको छ।

हवल्दार घर्ती बांगाबगरको एक होटलमा गएका बेला महिलालाई जिस्काएको निहुँमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो।

पक्राउ परेकी दिपिका फरार आरोपी आशिककी श्रीमती हुन। प्रहरी हवल्दार घर्तीले दिपिकालाई जिस्काएको निहुँमा विवाद हुँदा कुटपिट र धारिलो हतियार प्रहार भएको उनीहरुले प्रहरीसमक्षको प्रारम्भिक बयानमा स्वीकारेका छन्। 

प्रहरीले हत्यामा प्रयोग भएको हतियार पनि बरामद गरेको छ। सामुदायिक प्रहरी कार्यालय बांगाबगरमा कार्यरत घर्तीको मंगलबार बिहान बांगाबगरस्थित होटल नजिकै शव भेटिएको थियो। 

उनको टाउको धारिलो हतियार प्रहार गरेको घाउ छन्। उनको शव अहिले पोष्टमार्टमका लागि अस्पतालमा छ। 

७१ वर्षीया वृद्धाको हत्या
दार्चुलामा सोमबार राति नै एक वृद्धाको पनि हत्या भएको छ। शैल्यशिखर नगरपालिका–८ की ७१ वर्षीया लक्ष्मी जोशीको घरमै हत्या भएको हो। 

घरमा एक्लै बस्दै आएकी उनको मंगलबार बिहान घरमै शव भेटिएको थियो। घटनाको प्रकृति हेर्दा लुटपाटका लागि हत्या भएको हुनसक्ने आशंका छ। घटनाको प्रहरीले अनुसन्धान थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad