माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको तुलनामा चालू आवमा नाफा बढेको छ। बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा कुल १ खर्ब १ करोड खुद नाफा गरेको देखिएको हो।
गत आवको दोस्रो त्रैमासिकमा बैंकको यस्तो नाफा ८० करोड मात्रै थियो। नाफा बढेको देखिए पनि बैंकको मुख्य आम्दानीमा भने ब्याजदर घट्दा प्रभाव परेको देखिन्छ। एक दशकयताकै न्यून दरमा ब्याज आइपुग्दा बैंकको ब्याज आम्दानीमा यो वर्ष ७.७६ प्रतिशतले संकुचन आएको छ।
गत आवको दोस्रो त्रैमासिकमा बैंकले ७ अर्ब ४२ करोड बराबरको ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा ६ अर्ब ८५ करोड बराबरको मात्रै आम्दानी गरेको छ।
त्यसो त बैंकले ब्याज खर्च पनि यो वर्ष उल्लेख्य मात्रामा घटाउँदा खुद ब्याजआम्दानीमा थोरैले बढाउन सफल देखिएको छ।
गत आवको तुलनामा चालू आवमा बैंकले ब्याज खर्च १५.०७ प्रतिशतले घटाएको देखिन्छ। गत आवमा ४ अर्ब ६० करोड रुपैयाँ ब्याज दिन खर्च गरेको बैंकले चालू आवको दोस्रो त्रैमासिकमा ३ अर्ब ९१ करोडमात्रै खर्च गरेको हो। यसले बैंकको खुद ब्याज आम्दानीलाई बढाएर २ अर्ब ९४ करोड पुर्याएको देखिन्छ। गत आवको सोही अवधिमा २ अर्ब ८२ करोड मात्रै खुद ब्याज आम्दानी थियो।
यस्तै पुस मसान्तसम्म बैंकको खुद सञ्चालन आय पनि बढेर ४ अर्ब २ करोडमा पुगेको छ। गत आवको सोही अवधिमा बैंकसँग यस्तो आय ३ अर्ब ६९ करोड मात्रै थियो। खुद सञ्चालन आय बढाउन सफल देखिएको बैंकको सञ्चालन नाफा भने गत वर्षको तुलनामा घटेको छ।
गत आवको पुस मसान्तसमा १ अर्ब ६२ करोड रुपैयाँ खुद सञ्चालन नाफा गरेको बैंकले चालू आवको सोही अवधिमा १ अर्ब ४५ करोड मात्रै नाफा गरेको हो।
बैंकले पुस मसान्तसम्म कुल कर्जाको ४.२५ प्रतिशत कर्जा खराब कर्जामा छ। गत आवमा यस्तो कर्जा ४.५४ प्रतिशत थियो। यस्तै कर्जा नोक्सानी व्यवस्थापन कोषमा ५ अर्ब ७४ करोड रुपैयाँ राखेको छ।
गत आवमा २ अर्ब ४ करोड मात्रै राखेको बैंकले चालू आवमा यस्तो रकम बढाएको छ। नाफामा सामान्य सुधार गरेको बैंकले पुस मसान्तसम्म ४४ करोड ११ लाख रुपैयाँ सेयरधनीलाई वितरण गर्ने कोषमा राखेको छ।
Shares

प्रतिक्रिया