छ महिनापछि सेयरबजारमा लगानीकर्ता जुर्मुराएका छन्। आइतबार हरियाली छाएको सेयरबजारमा लगानीकर्ताले ८ अर्ब ४० करोडको सेयर काराबार गरेका छन्।
पछिल्लो पटक लगानीकर्ताले असोज ५ गते ९ अर्ब १ करोडको कारोबार गरेका थिए। त्यसयता ७ अर्ब अधिकतम र न्यूनतममा २ अर्बसम्मको कारोबार गरेका लगानीकर्ताले आइतबार भने करिब साढे ८ अर्ब बराबरको सेयर कारोबार गरेका हुन्।
पुस सकिएसँगै दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले साधारणसभा सकेर लगानीकर्तालाई लाभांश पनि वितरण गरिसकेका छन्। जसले दोस्रो बजारलाई थप चलायमान बनाउन मद्दत पुग्दा बजारमा पछिल्लो केही समय निरन्तर ६ अर्ब बराबरको काराबोर हुँदै आएको थियो।
आइतबार नेप्से सूचक पनि ३१.१२ अंकले बढेर २६७२.५५ अंकमा पुग्दा लगानीकर्ताले कारोबारलाई पनि बढाउन पुगेका छन्।
यो दिन कारोबारमा आएका ३३८ स्क्रिप्टमध्ये २२४ वटाको मूल्य बढ्दा ३१ वटाको घट्न पुगेको छ।
आज बढ्ने साग डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्री, गुराँस फाइनान्सलगायतको सेयरमा १० प्रतिशत मूल्य वृद्धिसहित सकारात्मक सर्किट लागेको छ।
यस्तै घट्नेमा भने थ्री स्टार हाइड्रो अगाडि देखिएको छ। यो कम्पनीको सेयर मूल्य ८.७८ प्रतिशतले घटेको छ। बाँकी अन्य ३० वटाको भने सामान्यले घटेको छ।
यस्तै आइतबार ६ महिनायताकै धेरै कारोबार गरेका लगानीकर्ताको रोजाइमा भने मञ्जुश्री फाइनान्स परेको छ। उक्त फाइनान्सको ५३ करोडको कारोबार हुँदा एसवाई प्यानलको ३७ करोडको कारोबार भएको हो।
Shares

प्रतिक्रिया