नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच नेपालको पुँजीबजार तथा विद्युत् उत्पादन सम्बद्ध क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न बिहीबार नेपाल धितोपत्र बोर्डको कार्यालय खुमलटारमा संयुक्त बैठक बसेको छ।
पुँजीबजारमार्फत विद्युत् उत्पादनसम्बन्धी परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय तथा नीतिगत सामञ्जस्यता कायम गर्ने विषयमा बैठक केन्द्रित रहेको थियो। दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्रको आवश्यकता रहने कुरामा दुवै निकायका प्रतिनिधिहरूले एकमत जाहेर गरेका थिए।
बोर्ड र आयोगका प्रमुख तथा उपस्थित प्रतिनिधिहरूले बजारमा विश्वास अभिवृद्धि गर्ने, लगानीका अवसर विस्तार गर्ने तथा नेपालको पुँजी बजार र विद्युत् उत्पादन सम्बद्ध क्षेत्रको समग्र विकास एवम् स्थायित्वमा योगदान पुर्याउने उद्देश्यले दुवै निकाय बीच निरन्तर सहकार्य, सूचना आदानप्रदान र संयुक्त पहललाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
बैठकले पुँजी बजार र विद्युत् क्षेत्रबीचको सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउन दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गर्ने सम्बन्धमा छलफल समेत गरेको छ। उक्त कार्यदलको उद्देश्य लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय तथा विद्यमान नियम कानूनमा थप परिमार्जन गर्ने सम्बन्धमा सहकार्य गरि ठोस उपायहरू पहिचान गर्ने रहनेछ।
उक्त बैठकमा बोर्डका तर्फबाट अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, कार्यकारी निर्देशकहरु विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र रुपेश केसी तथा आयोगका तर्फबाट अध्यक्ष डा. राम प्रसाद धिताल, सदस्यहरु डा. मधुसुदन अधिकारी र भगिरथी भट्टराई ज्ञवालीलगायत अन्य पदाधिकारीहरूको समेत सहभागिता थियो।
Shares

प्रतिक्रिया