कारोबार


सर्वपक्षीय संवादमा ढकालले भने- अब अर्थतन्त्रको एजेन्डा सबैको एजेन्डा हुनुपर्छ

सर्वपक्षीय संवादमा ढकालले भने- अब अर्थतन्त्रको एजेन्डा सबैको एजेन्डा हुनुपर्छ

नेपालखबर
पुस १६, २०८२ बुधबार १५:२७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले अब मुलुकको अर्थतन्त्रको एजेन्डा सबै राजनीतिक दलको साझा एजेन्डा हुन जरुरी रहेको बताएका छन्।

बुधबार संघले आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवादलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले राजनीतिक दलहरूसँग स्पष्ट दृष्टिकोण र प्रतिवद्धता चाहेको बताए।

‘हामीले तपाईंहरूको दृष्टिकोण जान्न चाहेका छौँ, हामीले प्रतिवद्धता नै चाहेका छौँ,’ ढकालले भने, ‘अब अर्थतन्त्रको एजेन्डा सबैको साझा एजेन्डा हुन जरुरी छ भन्ने निजी क्षेत्रको भनाइ हो।’

ढकालले ७५ वर्षको अवधिमा आधा दर्जनभन्दा बढी निर्णायक राजनीतिक परिवर्तन भए पनि जनताको जीवनयापन सहज हुन नसकेको उल्लेख गरे। 

‘राजनीतिक परिवर्तन त भए, तर जनताको जीवन सहज भएन,’ उनले भने, ‘त्यसकारण पनि राजनीतिक परिवर्तनहरू पूर्ण रूपमा संस्थागत हुन सकेनन्।’

युवाहरू विदेशिन बाध्य भइरहेको अवस्था, नीतिगत अवरोध र झन्झटिला प्रक्रियाले देशभित्र व्यवसाय गर्न कठिन भइरहेको उनको भनाइ थियो। ‘युवाहरू विदेशिन बाध्य छन्, नीतिगत अवरोध छन्, प्रक्रियाहरू झन्झटिला छन्,’ ढकालले भने, ‘व्यवसायमैत्री वातावरण बनेको छैन।’

उनले निजी क्षेत्रप्रति सर्वसाधारणमा समेत नकारात्मक धारणा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। ‘निजी क्षेत्रप्रति नकारात्मक दृष्टिकोण छ,’ ढकालले भने, ‘पछिल्लो समयका आगजनी र तोडफोडका घटनाले हामीलाई थप निराश बनाएको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad