कोशी


कोसी प्रदेशको सीप परीक्षणमा महिलाको ५४ प्रतिशत महिला सहभागी

कोसी प्रदेशको सीप परीक्षणमा महिलाको ५४ प्रतिशत महिला सहभागी

नेपालखबर
पुस १६, २०८२ बुधबार १५:४४, ​विराटनगर

कोसी प्रदेशमा प्राविधिक तथा व्यावसायिक सीप परीक्षण गराउनेहरूमा पुरुषको तुलनामा महिलाको संख्या उल्लेख्य देखिएको छ।

सामाजिक विकास मन्त्रालयको आयोजना तथा स्वीस कन्ट्याक्टको सहयोगमा सार्वजनिक गरिएको ‘टिभेट प्रोफाइल’ अनुसार सीप परीक्षणमा महिलाको सहभागिता ५३.९ प्रतिशत पुगेको छ।

कोसी प्रदेशको प्रादेशिक प्रबोधिकरण कार्यक्रममा प्रस्तुत गरिएको पछिल्लो तथ्यांक अनुसार कुल ४७ हजार ९ सय ५८ सहभागीमध्ये २५ हजार ८ सय ३३ जना महिला रहेका छन् भने पुरुषको संख्या २२ हजार १ सय २० अर्थात् ४६.१ प्रतिशत मात्र सीमित छ। यसले परम्परागत रूपमा पुरुषको क्षेत्र मानिने प्राविधिक विधामा महिलाहरूको बढ्दो आकर्षण र सक्रियतालाई स्पष्ट पारेको छ।

क्षेत्रगत आकर्षणको कुरा गर्दा कोसी प्रदेशका युवाहरूले सबैभन्दा बढी अटोमोबाइल क्षेत्रमा १८.१ प्रतिशत सहभागिता जनाएका छन्। यसैगरी फोटोग्राफीमा १६.४ प्रतिशत, व्यापार व्यवसायमा १२.४ प्रतिशत र आतिथ्य उद्योग (हस्पिटालिटी) मा ११.८ प्रतिशतको संलग्नता देखिएको छ। टेक्सटाइल र सिलाई बुनाई जस्ता क्षेत्रमा पनि सहभागिता उत्साहजनक देखिए तापनि पुस्तकालय र सुचनन विज्ञान, हस्तकला र निर्माण जस्ता क्षेत्रमा भने युवाहरूको रुचि निकै कम देखिएको प्रतिवेदनमा उल्लेख छ।

तथ्यांकले देखाए अनुसार ९० प्रतिशतभन्दा बढी सहभागीहरूले तह १ को मात्र सीप परीक्षण गराएका छन्। विशेषगरी स्वदेश तथा विदेशमा रोजगारीका लागि न्यूनतम प्रमाणपत्र अनिवार्य हुने भएपछि युवाहरू प्रारम्भिक तहको परीक्षणमा बढी केन्द्रित भएका हुन्। उत्तीर्ण प्रतिशतको अवस्थालाई हेर्दा समग्रमा ६१ प्रतिशत परीक्षार्थी सफल भएका छन्।

यद्यपि तह १ मा ६३ प्रतिशत उत्तीर्ण हुँदा माथिल्लो तहहरूमा भने यो दर क्रमशः घट्दै गएको देखिन्छ। तह २ मा ४० प्रतिशत र तह ३ मा पुग्दा उत्तीर्ण दर १७ प्रतिशतमा खुम्चिनुले उच्च तहको सीप र क्षमता विकासमा अझै मेहनत गर्नुपर्ने चुनौतीलाई उजागर गरेको छ।

​मन्त्रालय र स्वीस कन्ट्याक्टको यो सहकार्यले कोसी प्रदेशमा दक्ष जनशक्तिको वास्तविक अवस्थालाई बाहिर ल्याएको पहिलाे दस्तावेज भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक याेजना तथा अनुसन्धान  महाशाखा प्रमुख लक्ष्मी न्याैपानेले जानकारी दिइन्। सीप परीक्षणमा महिलाहरूको यो उत्साहजनक सहभागिताले आगामी दिनमा प्रदेशको श्रम बजारमा दक्ष महिला जनशक्तिको उपस्थिति बलियो हुने र उनीहरूको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको उनले जानकारी दिइन्। 

छोटो अवधिको व्यावसायिक तालिम प्रदायक संस्थाहरूको विस्तार भने कोसी प्रदेशमा उत्साहजनक छ। हाल प्रदेशभर २१५ वटा संस्थाहरूले छोटो अवधिको तालिम प्रदान गर्न सम्बन्धन प्राप्त गरेका छन्। जिल्लागत रूपमा हेर्दा मोरङमा सबैभन्दा बढी ६४ वटा र झापामा ४४ वटा संस्था रहेका छन् भने सुनसरीमा ७२ वटा सम्म संस्थाले स्वीकृति पाएका छन्। यी संस्थाहरूले प्रति संस्था औसत ६.३० का दरले विभिन्न १३५४ वटा स्वीकृत कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले बजारको माग अनुसार १८० घण्टादेखि १६९६ घण्टासम्मका कुल २७४ वटा व्यावसायिक तालिमका पाठ्यक्रमहरू निर्माण गरेको छ। यस्तै, राष्ट्रिय सीप परीक्षण समितिले ३१४ वटा राष्ट्रिय व्यावसायिक सीप प्रमाणिकरणको मापदण्ड तयार गरी सीप परीक्षणका कार्यहरू अघि बढाएको छ।
समग्रमा, सीप परीक्षणमा महिलाको बढ्दो सहभागिता र तालिम केन्द्रहरूको बढ्दो संख्या सकारात्मक पक्ष हुन्। 

प्राविधिक धारमा घट्दाे संख्या 
कोसी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्र विस्तार देखिए पनि अर्कोतर्फ शैक्षिक निरन्तरतामा भने गम्भीर चुनौती देखिएको छ।  सार्वजनिक गरिएको तथ्यांक अनुसार प्राविधिक धारतर्फ विद्यार्थीहरूको भर्ना दर कक्षा बढ्दै जाँदा कमजोर हुँदै गएको पाइएको हो।

प्राविधिक धार अन्तर्गत कक्षा ९ मा विद्यार्थीहरूको भर्ना दर ५९ प्रतिशत रहेको पाइएको छ। तर, यो उत्साह माथिल्लो कक्षामा पुग्दा टिकिरहन सकेको छैन। तथ्यांक अनुसार कक्षा १० मा ५४ प्रतिशत, कक्षा ११ मा ३५ प्रतिशत हुँदै कक्षा १२ मा पुग्दा यो दर घटेर मात्र ३४ प्रतिशतमा सीमित भएको छ। यसले प्राविधिक शिक्षा सुरु गरेका उल्लेख्य संख्याका विद्यार्थीहरूले बीचैमा पढाइ छोड्ने गरेको  तथ्यांकमा देखिन्छ।  यसले प्राविधिक धारका शैक्षिक संस्थाहरू मर्ज गर्नु पर्नु अवस्थामा पुगेकाे प्रतिवेदनले स्पष्ट पारेको छ ।

माथिल्लो शैक्षिक तहमा विद्यार्थीहरूको घट्दो उपस्थिति र सीप परीक्षणमा तह १ भन्दा माथिल्लो तहमा देखिएको न्यून उत्तीर्ण दरले प्राविधिक शिक्षाको गुणस्तर र स्थायित्वमा अझै धेरै काम गर्न बाँकी रहेको देखाएकाे सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुयालले बताए। दक्ष जनशक्ति उत्पादनका लागि केवल संख्यात्मक विस्तारमा मात्र नभई विद्यार्थीलाई माथिल्लो तहमा समयाेजनका कार्यक्रमहरू अघि सार्नु पर्ने देखिएको बताए।  

आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पाेखरेलले सिटिइभिटीद्वारा सञ्चालित प्राविधिक धार सञ्चालनमा निकै ठुलाे चुनाैति रहेकाे बताए। सिटिइभिटीले २४ विद्यार्थी पुगेपछस मात्रै काेर्स सकाउन ७ लाख दिने गरेकाे छ, याे असाध्यै कम हुने बताए। उनले अहिलेकाे प्राविधिक धारकाे  पाठ्यक्रम पनि ठिक नभएको बताए।

साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले  प्राविधिक धार लामाे  भएको बताए। पाठ्यक्रममा नै समस्या भएको कारण  शुरू शुरूमा सिभिलमा १२०सम्म भर्ना हुन आउनेमा अहिले घटेर ४८ जनाकाे काेटा रहेकाेमा अहिले आधा विद्यार्थी पनि भर्नाको लागि नआएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad