ad ad

कारोबार


लकडाउन खुले पनि दशैँअघि सौराहाका होटल नखुल्ने

लकडाउन खुले पनि दशैँअघि सौराहाका होटल नखुल्ने

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ६:३४,

लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन्। पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन्।

‘लकडाउनपछि तत्काल विदेशी पर्यटक आउने कुरा भएन, स्वदेशी पनि खासै आउँदैनन्’, उनले भने। होटल खुलेपछि दैनिक सञ्चालन खर्च धेरै हुने तर पर्यटक नआउने भएकाले तत्काल होटल सञ्चालन नगरिने उनले जानकारी दिए।

संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार जेठको पहिलो साताबाट भदौ अन्तिमसम्मको समय अरु बेलामा पनि पर्यटक नआउने समय हो। त्यसपछिको समयमा हिमाल चढ्नका लागि विदेशी पर्यटक आउने भए पनि यस वर्ष त्यो सम्भावना न्यून रहेको घिमिरेले बताए। उनका अनुसार दशैँताका आन्तरिक पर्यटक आउने भएकाले सोही समयमा होटल खोल्ने तयारी गरिएको छ।

दुई÷चार पाहुनाका लागि होटल खोल्दा सञ्चालन खर्च बढी हुने भएकाले त्यो सम्भावना नरहेको घिमिरे बताउछन्। होटल व्यवसायीले चैत महिनासम्मको तलब दिएर कर्मचारीलाई बिदा दिएका छन्। अब के गर्ने भन्ने विषयमा केन्द्रीय हानको निर्णयको पर्खाइमा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए।

चितवन र नवलपरासीमा १५० पर्यटकीय होटल छन्। ती होटलमा पाँच हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत छन्। भट्टराईका अनुसार ती होटलमा रु १९ अर्ब ५० करोडभन्दा बढी बैंकिङ ऋण रहेको छ। होटल खुलेको कम्तीमा एक वर्ष ऋणको किस्ता र ब्याज बुझाउन नसकिने भन्दै उनले पुनःकर्जा दिएर व्यवसाय सञ्चालन गर्न सहयोग गर्नुपर्ने बताए। भट्टराईले कृषिसरह ब्याजमा सहुलियत दिनुपर्ने माग अघि सारेको जानकारी दिए।

यता मेघौलीको साराङ वाइल्ड लाइफ सेन्चुरीका सञ्चालक सुवोध प्रधानले भने लकडाउन खुलेपछि होटल सञ्चालनमा ल्याउने तयारी गरिएको बताए। थोरै कर्मचारीबाट सेवासुविधा दिने गरी होटल खोल्ने तयारी आफूले गरेको उनले बताए। लकडाउनले घरमा बस्दा वाक्क भएका आन्तरिक पर्यटक आउने उनको अनुमान छ। यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्रका दुर्लभ वन्यजन्तु, थारू संस्कृति, डुंगा शयरका लागि स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .