कारोबार


सुलभ अग्रवालको जगदम्बा ओभरसिजबाट भन्सार प्रणालीमै छेडखानी गरी ७१ लाख राजस्व छली

सुलभ अग्रवालको जगदम्बा ओभरसिजबाट भन्सार प्रणालीमै छेडखानी गरी ७१ लाख राजस्व छली

जगदम्बा ओभरसिजका सुलभ अग्रवालले सानेपाको इन्टरनेशनल क्लव परिसरबाट सार्वजनिक रुपमा टोबाको स्टिक्स बिक्रि गर्दै आएका छन्


निर्दोष घोरसाइने
मंसिर १२, २०८२ शुक्रबार १०:५१, काठमाडौँ

शंकर ग्रुपअन्तर्गतको जगदम्बा ओभरसिज प्रालिले नेपालमा बिक्री वितरण गर्दै आइरहेको इलेक्ट्रिक डिभाइसमा राखेर तान्नु पर्ने विशेष प्रकारको चुरोट आयातमा आधाभन्दा बढी राजस्व छली गरेको पाइएको छ।

जगदम्बा ओभरसिजले भन्सार विभागका कर्मचारीहरूसँग सेटिङ मिलाएर भन्सार विभागको आशिकुडा प्रणालीमै छेडखानी गरी चालू आर्थिक वर्षमा ७० लाख ८८ हजार रुपैयाँ राजस्व छलेको भेटिएको हो। 

शंकर ग्रुपअन्तर्गतको जगदम्बा ओभरसिज प्रालिका प्रमुख सुलभ अग्रवाल हुन्, जसलाई कोरोना परीक्षण गर्ने थर्मल गन कालोबजारीमा बिक्रि गरेको आरोपमा प्रहरी अपराध अनुसन्धान महाशाखाले २०७६ चैतमा पक्राउ गरेको थियो। नेपालमा गैरकानुनी मानिने भेपजन्य सामाग्रीको व्यापारमा संलग्न भएपछि उनी पछिल्लो समय विवादमा पर्दै आएका छन्।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार इलेक्ट्रिक डिभाइसमा राखेर तान्नु पर्ने विशेष प्रकारको चुरोट आयातमा भइरहेको राजस्व छलीमा उनी संलग्न रहेको तथ्य फेला परेको छ।

एचएस कोड २४०४११०० मा आयात हुने गरेको ‘सुर्ती भएको वा पुनर्निर्मित सुर्ती’ (टोबाको स्टिक्स) प्रचलित राजस्व महशुलभन्दा कम तिरेर भित्रिएको तथ्य पत्ता लागेको हो। 

कम्प्युटरमार्फत मालवस्तुको विवरण प्रविष्टि गर्ने भन्सार विभागको आशिकुडा प्रणालीमा छेडखानी गरी टोबाको स्टिक्स वास्तविक राजस्वभन्दा कम महशुल तिरेर टोबाको स्टिक्स नेपाल भित्रिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए। 

‘आशिकुडा प्रणालीमा आयात हुने वस्तुको एचएस कोड र घोषणा गरिएको मूल्य राख्दा कानुनबमोजिम लाग्ने राजस्वसहितको बिल जारी हुन्छ। तर टोबाको स्टिक्स वास्तविक राजस्वभन्दा कम तिरेर नेपाल भित्रिएको छ’, ती अधिकारीले भने, ‘यसमा भन्सार विभाग र आयातकर्ताको मिलेमतोमा कम राजस्व बुझाएर सामान छुटाइएको हो।’

भन्सार विभागको वैदेशिक व्यापारको तथ्यांकमा पनि वास्तविक राजस्वभन्दा कम मूल्यमा टोबाको स्टिक्स भित्रिएको देखिन्छ।

टोबाको स्टिक्स चालू आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म ९६ लाख रुपैयाँबराबरको ६१० किलो आयात भएको छ। यसबाट ६७ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको विभागको तथ्यांकमा देखिन्छ। यो सामानको वास्तविक मूल्यको ७१.८७५ प्रतिशत मात्रै राजस्व हो। 

विभागका सूचना अधिकारी किशोर बर्तौला सुर्ती भएको वा पुनर्निर्मित सुर्तीको राजस्व आयात मूल्यभन्दा बढी हुनुपर्ने बताउँछन्। 

‘वास्तविक मूल्यभन्दा कम राजस्व हुनु नपर्ने हो’, उनले नेपालखबरसँग भने, ‘यस वस्तुमा १४३.६२८ प्रतिशत राजस्व लाग्छ।’

विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले टोबाको स्टिक्सको आयातमा भएको राजस्व छलीका सम्बन्धमा अनभिज्ञता व्यक्त गरे। भण्डारीले यस विषयको वास्तविकता बुझेर जानकारी दिने बताए। 

सुर्ती भएको वा पुननिर्मित सुर्तीमा ४० प्रतिशत भन्सार महशुल, ४० प्रतिशत अन्तःशुल्क, १० प्रतिशत स्वास्थ्य जोखिम कर र १३ प्रतिशत भ्याट लाग्ने चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक ऐनमा व्यवस्था छ। 

गत आर्थिक वर्ष २०८१/८२ सम्म यस्तो वस्तुमा प्रतिकिलो ५२० रुपैयाँ अन्तःशुल्क लाग्ने गरेको थियो। तर चालू आर्थिक वर्षको आर्थिक ऐन संशोधन गरेर अन्तःशुल्क ४० प्रतिशत पुर्याइएको छ। भन्सार र स्वास्थ्य जोखिम करको दर परिवर्तन गरिएको छैन।

सुर्तीजन्य पदार्थको सेवन स्वास्थ्यका लागि जोखिम हुन्छ। यसमा प्रतिकिलोग्राम निश्चित रकम तोक्दा अन्तःशुल्क राजस्व कम संकलन हुन गएको थियो। उक्त पदार्थ प्रयोग गर्न निरुत्साहित गर्न अन्तःशुल्कको दर बढाइएको छ। चालू आवमा प्रतिशत कायम गरेर अन्तःशुल्क वृद्धि गरिएको हो। यसबाट राजस्व संकलन बढ्ने विश्वास व्यक्त गरिएको थियो। तर अन्तःशुल्क दर बढ्दा भन्सारको सिस्टममा छेडखानी गरी राजस्व कम उठ्ने बनाइएको छ। 

गत आर्थिक वर्ष २०८१/८२ मा १ करोड ५८ लाख रुपैयाँबराबरको १ हजार २१९ किलोग्राम सुर्ती भएको वा पुनर्निर्मित सुर्ती आयात भएको थियो। यसबाट १ करोड ४ लाख ६ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा देखिन्छ। 

भन्सार जाँचपास परीक्षण कार्यालयका सूचना अधिकारी बालकृष्ण हुमागाईंले भन्सार जाँचपास भएको चार वर्षसम्म राजस्व गुमेको क्षेत्र वा वस्तुका सम्बन्धमा उजुरी आएमा अनुसन्धान अघि बढ्ने बताए। 

‘भन्सारमा यति राजस्व उठ्नुपर्ने त्यति उठेन भनेर हेर्दैनौँ। केसअनुसार आएको उजुरीका आधारमा हेर्छौँ। ५० प्रतिशत विभागले पठाउँछ र ५० प्रतिशत कार्यालयले यो क्षेत्रमा राजस्व गुमेको हुन सक्छ भनेर अनुसन्धान गर्ने हो’, हुमागाईंले भने, ‘कार्यालयले आफैँ सक्रिय भएर अनुसन्धान गर्दैन।’

कसले बेच्छ टोबाको स्टिक्स?
टोबाको स्टिक्स शंकर ग्रुपअन्तर्गतको जगदम्बा ओभरसिज प्रालिले नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ। सुलभ अग्रवाल प्रमुख रहेको जगदम्बा ओभरसिज चुरोट र मदिराको आयातकर्ता तथा वितरक हो। जगदम्बाले ललितपुरको सानेपास्थित इन्टरनेसनल क्लबमा डिलर स्थापना गरी टोबाको स्टिक्स बिक्री वितरण गर्दै आइरहेको छ।

टोबाको स्टिक्स इन्डोनेसियाबाट आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। 

जगदम्बाले अन्तर्राष्ट्रिय टोबाको कम्पनी फिलिप मोरिस इन्टरनेशनल (पीएमआई)का उत्पादन नेपालमा बिक्री वितरण गर्दै आएको छ। पीएमआईले आफ्नो उत्पादनलाई धूमपानरहित विकल्पको रुपमा दाबी गर्ने गरेको छ। 

पीएमआईको मुख्यालय अमेरिकी सहर न्युयोर्कमा छ। यसले सिगरेटको विकल्पमा ‘स्मोक फ्रि प्रोडक्ट’ वितरण गर्छ। पीएमआईको सम्बन्धन लिएर सन् २००५ मा स्थापना भएको पीटी हान्जया मन्डाला सम्पोर्ना टीबीकेबाट उत्पादित चुरोट जगदम्बाले पैठारी तथा बिक्रीवितरण गर्दै आएको छ। हिट नट बर्नअन्तर्गत पर्ने आईक्यू ओएसका फ्ल्यागसिप स्टोन स्थापना गरी टीबीकेले यसको उत्पादन गर्दै आएको छ।

टोबाको स्टिक्सलाई इलेक्ट्रिक डिभाइसमा राखेर प्रयोग गरिन्छ। इलेक्ट्रिक डिभाइसमा रहेको स्मार्टकोर इन्डक्सन प्रविधिको प्रयोग गरी टोबाको (सुर्ती)लाई जलाउने नभई तताउने काम हुन्छ। जसले धूवाँ र खरानी निकाल्दैन भने विविध स्वाद दिन्छ। 

यो हेर्दा भेपजस्तै देखिए पनि यसमा लिक्विड (झोल) नभई टोबाको स्टिक्स राखेर तान्नुपर्ने हुन्छ।

आधाभन्दा बढी राजस्व छली
सुर्ती भएको वा पुनर्निर्मित सुर्ती नभएको वस्तुको आयातमा आधाभन्दा बढी राजस्व छली भएको देखिन्छ। चालू आवमा ९६ लाख रुपैयाँबराबरको टोबाको स्टिक्स आयात भएको छ। 

यस वस्तुमा घोषणा गरिएको मूल्यमा ४० प्रतिशत भन्सार लाग्छ। घोषणा मूल्य ९६ लाख रुपैयाँको भन्सार महशुल ३८ लाख ४० हजार रुपैयाँ हुन्छ। भन्सार महशुलसहित टोबाको स्टिक्सको कुल मूल्य १ करोड ३४ लाख ४० हजार रुपैयाँ हुन्छ। उक्त मूल्यमा थप ४० प्रतिशत अन्तःशुल्क लाग्छ। अन्तःशुल्क ५३ लाख ७६ हजार रुपैयाँ थप हुन्छ। भन्सार मूल्य र अन्तःशुल्क जोड्दा उक्त वस्तुको मूल्य १ करोड ८८ लाख १६ हजार हुन जान्छ। 

यसमा थप १० प्रतिशत स्वास्थ्य जोखिम कर पनि लाग्छ। स्वास्थ्य जोखिम कर १८ लाख ८१ हजार ६०० रुपैयाँ थप हुन्छ। यसरी सबै जोड्दा उक्त वस्तुको मूल्य २ करोड ६ लाख ९७ हजार ६०० रुपैयाँ पर्न जान्छ। 

अन्त्यमा १३ प्रतिशत भ्याट लाग्छ। स्वास्थ्य जोखिम कर जोडेर भएको मूल्यमा थप २६ लाख ९० हजार ६८८ भ्याट जोडिन्छ। 

भ्याट थपिएसँगै सुर्ती भएको वा पुनर्निर्मित सुर्तीको कुल मूल्य २ करोड ३३ लाख ८८ हजार २८८ रुपैयाँ हुन जान्छ। यसमा निर्यातकर्ताले घोषणा गरेको मूल्य घटाउँदा १ करोड ३७ लाख ८८ हजार २८८ रुपैयाँ राजस्व संकलन हुनुपथ्र्यो। तर विभागले सार्वजनिक गरेको तथ्यांकमा त्यस्तो देखिँदैन। विभागले ६७ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। यसबाट ७० लाख ८८ हजार २८८ रुपैयाँ राजस्व नोक्सानी भएको देखिन्छ।

केपी शर्मा ओलीले नेतृत्व गरेको अघिल्लो सरकारका बेला सुलभ अग्रवाल लगायतको बिचौलिया समूह ‘थर्मल गन ग्याङ’ सेटिङ मिलाएर आर्थिक घोटाला मच्चाउन निकै सक्रिय थियो। अग्रवालले गरेको यो राजश्व घोटाला त्यसको एउटा सानो उदाहरण मात्रै हो।

वार्षिक रुपमा अरबौँको कारोबार गर्ने शंकर ग्रुप अन्तर्गतको जगदम्बा ओभरसिजले भन्सार विभागका कर्मचारीहरूसँग सेटिङ नै मिलाएर विभागको आशिकुडा प्रणालीमै छेडखानी गरी गरेको यो राजश्व छली धेरै गम्भीर विषय हो। यसमा छानबिन र कारबाही नहुने हो भने जगदम्बा ओभरसिजले यो व्यवसाय विस्तार गर्दै जाँदा राजस्व छलीको रकम बढ्दै जाने निश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad