कारोबार


कोल्याटरल बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो : गभर्नर पौडेल

कोल्याटरल बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो : गभर्नर पौडेल

नेपालखबर
मंसिर २१, २०८२ आइतबार ११:१४, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको कोल्याटरल (धितो) बेचेर आफूलाई फाइदा हुने काम गर्नु भनेको ‘पार्ट अफ करप्सन’ रहेकाले यसलाई राष्ट्र बैंकले क्षम्य नमान्ने छन्।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६औँ वार्षिक साधारण सभामा बोल्दै गभर्नर पौडेलले यस्ता गतिविधिलाई राष्ट्र बं‌कले कठोर रूपमा लिने बताएका हुन्।

‘सरकारी बैंकहरूबाट यो मिलाइदिन्छु भनेर पैसा माग्यो भने सरकारले रिस्क लिन्छ। तर निजी बैंकहरूबाट त्यस्तो भएमा हामी गम्भीर रूपमा लिनेछौँ’, गभर्नर पौडेलले भने, ‘कुनै पनि व्यक्तिले जबरजस्ती अर्काको कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु पार्ट अफ करप्सन हो। यसलाई नेपाल राष्ट्र बैंकले क्षम्य रूपमा लिँदैन।’

त्यस्तै गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान बनाउन राष्ट्र बैंकले विभिन्न नीति परिमार्जन गरेको बताए।

उनले भने, ‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा वित्तीय संस्थाहरूको नाफा बढाउनका लागि सहज बनाएका छौँ। महानगरमा रहेका धेरै बैंकहरूका शाखा बन्द गर्ने बाटो खोलिदिएका छौँ।’

बैंकहरूको हकमा हामीले राम्रो नाफा र लगानी गरेर डिजिटल कारोबारमा ध्यान दिँदै अर्थतन्त्रको गतिमा सहयोग पुगोस् भनेर नै नेपाल राष्ट्र बैंकले काम गरिरहेको गभर्नर पौडेलको भनाइ छ। 

‘बैंक तथा वित्तीय संस्थाहरूको नाफामा ध्यान दिइरहेका छौँ। तर, यसमा सहि के हो र गलत के हो भनेर पोलिसी तयार पार्छौँ। सबैको गुनासो हेरे हामी अगाडी बढ्ने गरेका छौँ’, गभर्नर पौडेलले भने।

बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको पैसा लगानी गर्न नेपाल राष्ट्र बैंक केन्द्रित रहेको जानकारी उनले दिए। 

‘अर्थतन्त्रको मुभमेन्ट मास साइकोलोजीमा भर पर्छ। गएको १० वर्षमा धेरै परिवर्तन भएको छ। यो बिचमा हिमालयन जाभादेखि आईटी क्षेत्रमा उल्लेख्य प्रगति भएको छ। विभिन्न ठाउँमा सडक तथा पूर्वाधारमा राम्रो प्रगति भएको छ’, उनले भने।

श्रीलंका अप्ठ्यारो अवस्थामा पुगेर पनि सुधारको गति समातेकाले नेपालले पनि गति समात्नेमा गभर्नर आश्वासन दिए। उनले राम्रो काममा केन्द्रित हुनुपर्ने बताए। अहिले मनोबल कमजोर रहेकाले यसलाई उकास्न आवश्यकता रहेको गभर्नर पौडेलले बताए।

उनले भने, ‘हामी आर्थिक नीतिहरूमा बलियो छौँ। तर, मनोबल कमजोर छ। कमजोर मनोबललाई उकास्न राम्रो विषयहरूको केन्द्रित रहनुपर्छ। जस्तै : निर्यातमा राम्रो गरिरहेका अलैँची जस्तालाई बढवा दिनुपर्छ। जे चाहिन्छ त्यसका लागि हामी राम्रा लाइनमा जान सकिन्छ।’

सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिहरूले समेत नेपालमा केही नहुने भन्दै आफ्ना सन्तान विदेश पलायन गराएको गभर्नर पौडेलको आरोप छ।

उनले भने, ‘एक दशकभन्दा बढी यो देशमा केही हुँदैन भनेर छोराछोरी सबैलाई विदेश पठाइयो। उनीहरू सबैलाई फर्काएर ल्याउनुपर्छ। तर, उनीहरूलाई ल्याएर मन्त्री बनाउने र राजनीतिक रेसमा लैजान हुँदैन।’

कुनै पनि कुरा रातारात गर्छु भन्ने कुनै फर्मुला नहुने भएकाले बिस्तारै गर्दै जानुपर्ने गभर्नर पौडेलको भनाइ छ।

‘फेलियर’ हुनु भनेको पार्ट आफ बिजनेस नभएकाले नराम्रो होइन, राम्रो स्टोरीहरूको प्राथमिकता दिनुपर्ने उनले बताए।

उनले भने, ‘म मीनबहादुरजीलाई हेर्छु। उहाँले दुई महिनामा गरेर देखाउँछु भन्नुभएको थियो। त्यसअनुसार उहाँले गरेर देखाउनु समेत भयो।’

कालोसूचीको व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको बताउँदै उनले थपे, ‘हाम्रोमा धेरै कालोसूचीमा परेका छन्। निर्माण उद्योगहरूमा माइक्रोफाइनान्स जस्तो मोडल भइरहेको छ। एउटाले राम्रो गरेन भने सबैलाई राखेजस्तो भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad