कारोबार


राष्ट्र बैंक भन्छ– अर्थतन्त्रमा क्रमशः सुधार, आर्थिक वृद्धिको लक्ष्य नभेटिने

राष्ट्र बैंक भन्छ– अर्थतन्त्रमा क्रमशः सुधार, आर्थिक वृद्धिको लक्ष्य नभेटिने

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १२:७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा क्रमशः सुधार आउने बताएको छ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले जेनजी आन्दोलनपछि बनेको सरकारले सुशासनलाई सुदृढ गर्दै व्यावसायिक वातावरणअनुकूल बनाउन गरेका नीतिगत प्रयास र राष्ट्र बैंकको मौद्रिक सहजताबाट अर्थतन्त्रमा सुधार आउने अनुमान गरेको हो। 

अन्तर्राष्ट्रिय साख रेटिङ एजेन्सी फिच ग्रुपले हालै सम्पन्न नेपालको सार्वभौम साख रेटिङमा गत वर्षकै रेटिङ (बीबीमाइनस) लाई निरन्तरता दिएको, आन्दोलनको क्रममा केही होटलहरूमा क्षति भए पनि नेपालको शान्ति सुरक्षामा पर्यटक आश्वस्त देखिएकोले बाह्य पर्यटक आगमन बढेको छ । नेपाल पर्यटन बोर्डबाट प्राप्त विवरणअनुसार सन् २०२४ को दस महिनामा ९ लाख ४१ हजार बाह्य पर्यटक भित्रिएकोमा सन्२०२५ को सोही अवधिमा करिव ९ लाख ४४ हजार बाह्य पर्यटक भित्रिएका छन्। 

जलविद्युत्उत्पादनमा प्रगति भई आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासमा थप ३०९.२ मेगावाट जलविद्युत्राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सरकारले चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्चतर्फ मूलतः तयारी नपुगेका र साना आयोजनाहरू कटौती गरी राष्ट्रिय प्राथमिकताप्राप्त र सम्पन्न हुने चरणमा रहेका आयोजनाहरूको कार्यान्वयन एवम् क्षतिको पुनर्निर्माणमा प्राथमिकता दिएकोले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ । 

यसको बाबजुद धानलगायत वर्षेवाली लगाउने समयमा मनसुन ढिलो सुरु भएको र त्यसको केही अन्तरालमा भारी वर्षा भएको कारण बाढी/पहिरोले कृषि लगायतका क्षेत्रहरू प्रभावित भएका छन्। समग्रमा चालु आर्थिक वर्षको आर्थिक वृद्धि लक्ष्यभन्दा केही कम रहने प्रारम्भिक अनुमान छ। सरकारले चालू आवका लागि ६ प्रतिशतको लक्ष्य लिएको छ। तर भदौको जेनजी आन्दोलन र त्यसपछिको अस्थिर राजनीतिका कारण वृद्धिदरमा संकुचन आउने अनुमान विश्व बैंकले पनि गरिसकेको छ। 

पछिल्ला महिनाहरूमा भारतमा उपभोक्ता मुद्रास्फीति लक्ष्यभन्दा न्यूनस्तरमा रहँदै आएको छ । आर्थिक वर्ष २०२५/२६ मा भारतको मुद्रास्फीति २.६ प्रतिशतमा सीमित हुने भारतीय रिजर्भ बैंकको प्रक्षेपण छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा थप सहजता आउन प्रक्षेपण छ । आन्तरिक उत्पादनतर्फ धानलगायत वर्षेवालीको उत्पादन केही कम हुनुको साथै आगामी निर्वाचनमा हुने खर्चले मुद्रास्फीतिमा केही चाप पार्ने देखिन्छ । फलस्वरूप आर्थिक वर्ष २०८२/८३ मा औसत उपभोक्ता मुद्रास्फीति ४.० प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण
छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या क्रमिक रूपमा बढ्दै गएको छ । आयातको तुलनामा विप्रेषण आप्रवाहको विद्यमान प्रवृत्ति कायम रहेमा चालु आर्थिक वर्षको बाँकी अवधिमा समेत विदेशी विनिमय सञ्चिति सुविधाजनक स्तरमै रहने अनुमान छ ।

बैंकिङ क्षेत्रमा अधिक तरलता र न्यून ब्याजदरको अवस्था कायमै रहेकोछ । निक्षेप तथा कर्जाका भारित औसत ब्याजदर निरन्तर घट्दै गएका छन्। तथापि, निक्षेपको भारित औसत वास्तविक ब्याजदर भने धनात्मक नै रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात बढ्दै गए तापनि औसत पुँजी पर्याप्तता अनुपात तोकिएको न्यूनतम सीमाभन्दा बढी रहेको छ।

मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको पछिल्लो अवस्था र वित्तीय क्षेत्रलगायत अर्थतन्त्रको उपर्युक्त परिदृश्यको आधारमा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिई केही नियामकीय व्यवस्थाहरूमा परिमार्जन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad