कारोबार


नेपालको स्वास्थ्य पूर्वाधारमा लगानी बढाउन एडीबीका अध्यक्षसँग अर्थमन्त्रीकाे आग्रह

नेपालको स्वास्थ्य पूर्वाधारमा लगानी बढाउन एडीबीका अध्यक्षसँग अर्थमन्त्रीकाे आग्रह

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १३:२,

अर्थमन्त्री डा. युवराज खतिवडा र एशियाली विकास बैंकका अध्यक्ष मासाचुगु आसाकावा बीच फोनवार्ता भएको छ।

अर्थमन्त्री खतिवडा र मासाजुगुबीच कोभिड– १९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोगबारे छलफल भएको अर्थमन्त्रालयले जनाएको छ।

त्यस क्रममा अर्थमन्त्री खतिवडाले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो संक्रमण हुन नपाएको बताउँदै कोरोना महामारीको असरलाई सम्बोधन गर्न एशियाली विकास बैंकले अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामाग्रीहरु र २५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्रदान गर्न लागेकोमा धन्यवाद व्यक्त गरे।

अर्थमन्त्रीले एशियाली विकास बैंक नेपालको मुख्य विकास साझेदार रहेको बताउँदै बैंकले ऊर्जा, यातायात, खानेपानी र शहरी विकास लगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगलाई विशेष प्रशंसा समेत गरे। साथै, उनले संघीय संरचनाका सबै संस्थाहरु बलियो बनाउनुका अतिरिक्त स्थानीय पूर्वाधार विकासमा लगानी बढाउनु पर्नेमा समेत जोड दिए। अर्थमन्त्रीले यस सन्दर्भमा स्थानीय तहहरु बीच अन्तरआवद्धता बढाउन चाहिने पूर्वाधार विकासमा बैंकबाट सहयोग हुने अपेक्षा पनि गरे।

अर्थमन्त्रीले कोभिड –१९ बाट स्वास्थ्य सेवामा सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी रहनुपर्ने तथ्य उजागर भएको बताउँदै आगामी दिनमा नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैंकको थप सहयोगको अपेक्षा गरे। उनले कोरोना संक्रमणबाट वैदेशिक रोजगारीका अवसरहरु खुम्चिदै जाँदा युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एवम् व्यवसायिक कृषि र स्थानीय पूर्वाधार एवम् ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने आवश्यकता रहेकोले यी क्षेत्रमा सहायता बढाउन एशियाली विकास बैंकलाई आग्रह गरे।

एशियाली विकास बैंकका अध्यक्ष आसाकावाले कोभिड –१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोभिड –१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढोत्तरी गर्दै जाने बताउँदै आगामी दिनमा बैंकले ऊर्जा, यातायात, नागरिक उड्डयन, संघीयतामा सेवाप्रवाह जस्ता क्षेत्रमा थप लगानी गर्ने बारेमा पनि जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad