कला


इरफान खान: सानो शहरका मान्छेको उचो उडान

इरफान खान: सानो शहरका मान्छेको उचो उडान

एजेन्सी
बैशाख १७, २०७७ बुधबार १३:१०,

सन् १९८८ मा जब मिरा नायरको फिल्म सलाम बम्बेले दूनियाभर धुम मचाइरहेको थियो, त्यतिबेला सायदै कसैको नजर १८–२० वर्ष उमेरको एक युवकमा परेको थियो होला। जसको फिल्ममा केही सेकेन्डको भुमिका निर्वाह गरेका थिए।

सडक किनारमा बसेर मान्छेहरुको चिठ्ठी लेख्ने सानो भूमिका त्यस फिल्ममा निभाएका इरफान खानले बोलेको डायलग थियो, ‘बस-बस १० लाइन हो गया, आगे लिखने का ५० पैसा लगेगा। माँ का नाम-पता बोल’

मान्छेहरुले इरफान खानलाई फिल्ममा देखेको त्यो नै पहिलो पटक थियो। र, छिट्टै सबैले उनलाई भुलेपनि। सायदैमात्रै कसैलाई थाहा थियो होला भविष्यमा त्यही दुब्लो पातलो देखिने अभिनेताले भारतमा मात्रै हैन, दुनिया भर नाम कमाउनेछन्।

१९६६ मा जयपुरको एउटा सानो शहरमा हुर्किए पनि इरफानका सपना भने ठूला थिए।

बबाल्यकालदेखि नै कथा कहानीमा रुचि भएका इरफानको झुकाव पनि सिनेमातर्फ थियो। अझ नसीरुद्दिन शाहको फिल्म हेरेपछि भने उनको मन सिनेमाले झनै खिचेको थियो।

राज्यसभा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘मिथुन चक्रवर्तीको फिल्म मृग्या आएको थियो। त्यसबेला कसैले मलाई मेरो अनुहार मिथुनसँग मिल्छ भन्यो। त्यसैबेला मलाई लाग्यो कि म पनि फिल्ममा काम गर्नसक्छु। केही दिन म मिथुनजस्तै हेयर स्टाइल बनाएर हिडेँपनि।’ 

एक समय उनले हिन्दी सिनेमाको आफूलाई सबैभनदा प्रतिभावान अभिनेताका रुपमा त स्थापित गरे नै अर्कातिर हलिउडमा लाइफ अफ पाई, द नेमसेक, द स्लमडग मिलिनेयर, द माइटी हार्ट, द अमेजिङ स्पाइडरम्यान जस्ता फिल्म समेत खेले। 

बलिउडमा शाहरुख, सलमान र आमिर खानको दबदबाकाबीच इरफानले आफ्नो छुट्टै स्थान बनाएका थिए। चाहे आँखाबाट अभिनय गर्नसक्ने उनको खुबी होस् या संम्वाद बोल्ने आफ्नै सहज तरिका, रोमान्टिक भुमिका देखि डाकुसम्म उनको अभिनयको तालमेल कमैमा देख्न पाइन्छ। पान सिंह तोमरमा डाकुको भुमिका निर्वाह गर्दा त्यसमा उनले देखाएको सोझोपना, पीडा, तिरस्कार र संघर्षको अभिनय त्यसैको एक उदाहरण थियो।

इरफानले यो सफलता हासिल गर्नु पछाडि वर्षौको गुमनाम संघर्ष र टिभीमा सानोतिर भुमिकाको संघर्ष रह्यो। दल्लीको नेसनल स्कुल अफ ड्रमामा अध्ययनपश्चात उनी फिल्म खेल्ने सपना पूरा गर्न मुम्बई हानिएका थिए। तर, सुरुआती दिनमा सलाम बम्बै जस्तै सानोतिनो भुमिकामात्रै उनले पाए। टिभीमा उनलाई मानिसले चन्द्रकांन्ताको बद्रीनाथको भुमिकामा रुचाएका थिए।

तर २००१ मा आसिफ कपाडियाको फिल्म वारियरमा काम गरेपछि भने उनले पछाडि फर्केर हेर्नुपरेन।

२००५ मा आएर बल्ल उनले ‘रोग’ फिल्ममा मुख्य भूमिका निर्वाह गर्न पाए। त्यसपछि ‘हासिल’ फिल्ममा उनले उत्कृष्ट खलनायकका लागि फिल्मफेयर अवार्डसमेत जिते।

सन् २००८ को फिल्म ‘स्लमडग मिलिनियर’मा एक पुलिस इन्स्पेक्टरको भूमिकामा अभिनय गरेपछि इरफानका लागि हलिउडको बाटो खुलेको थियो। 

इरफानले ‘पान सिंह तोमर’ फिल्मबाट नेसनल अवार्डसमेत हात पारेका थिए। लगत्तै भारत सरकारले उनलाई पद्माश्री अवार्ड पनि दिएको थियो।

यीनै अभिनेताको बुधबार निधन भएपछि सारा बलिउड यतिबेला स्तब्ध छ। पेटमा संक्रमणको कारण उनलाई मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गराइएको थियो। आईसीयूमा उपचाररत् उनको बुधबार निधन भएको हो। अलबिदा इरफान।

 -एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad