नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय तथा निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न नेपाल प्रहरीसँग आग्रह गरेको छ।
महासंघका पदाधिकारीहरूको टोलीले आइतबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई भेट गर्दै आन्दोलनको नाममा भइरहेका गलत गतिविधिले निजी क्षेत्रलाई ठूलो क्षति पुगेकाले तिनको अनुसन्धान गरी दोषीमाथि कानुनी प्रक्रिया अघि बढाउन माग गरेको हो। टोलीको नेतृत्व महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए।
अध्यक्ष ढकालले आन्दोलनपछि निजी क्षेत्रको मनोबल कमजोर हुनुका साथै समग्र आर्थिक क्रियाकलापमै नकारात्मक असर परेको भन्दै घटनामा संलग्नविरुद्ध जाहेरी दर्ता नलिने तथा आवश्यक कारबाहीमा उदासीनता देखिए दण्डहीनता बढ्न सक्ने चेतावनी दिए। उनले यस्ता घटनाले लगानी वातावरणमा गम्भीर जोखिम पैदा गर्ने र भविष्यमा फेरि दोहोरिन सक्ने खतरा रहेको उल्लेख गरे।
त्यसैगरी, महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानी आकर्षणका लागि सुरक्षाको प्रत्याभूति अनिवार्य हुने बताए। शान्ति–सुरक्षा कमजोर हुने हो भने आर्थिक गतिविधि सुस्त हुने र निजी क्षेत्र निरुत्साहित हुने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया