कारोबार


पीडाले मान्छे विद्रोही बन्छ, हामीले पीडा दिनुहुँदैन : अर्थमन्त्री खनाल

पीडाले मान्छे विद्रोही बन्छ, हामीले पीडा दिनुहुँदैन : अर्थमन्त्री खनाल

नेपालखबर
मंसिर १, २०८२ सोमबार १३:१६, काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले कर प्रणालीमा सुधार, सुशासन र सामाजिक न्यायको प्रभावकारी कार्यान्वयनले समतामूलक र स्थायी शान्तियुक्त समाज निर्माण गर्न सकिने बताएका छन्। 

कर दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राज्यले नागरिकलाई पाखा नपारेको अनुभूति दिनु अत्यावश्यक भएको बताए।

अर्थमन्त्री खनालका अनुसार नागरिकले विकास, सामाजिक सुरक्षा र आर्थिक अवसरमा आफ्नो पहुँच रहेको महसुस गर्न सके विद्रोह वा असन्तुष्टि स्वतः न्यून हुन्छ। उनले हालैको जेन–जी आन्दोलन पनि लामो समयदेखि थिचिएका असन्तुष्टिको परिणाम भएको भन्दै बेरोजगारी, अवसर अभाव र आर्थिक पलायनले युवापुस्तामा विद्रोही भावना बढाएको उल्लेख गरे।

‘पीडाले मान्छे विद्रोही बन्छ, हामीले पीडा दिनुहुँदैन,’ उनले भने, ‘राजस्वमार्फत प्राप्त स्रोतको पारदर्शी उपयोग, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाले नागरिकलाई न्यायपूर्ण शासनको अनुभूति दिलाउनुपर्छ। त्यही नै दीर्घकालीन शान्तिको सबैभन्दा ठूलो ग्यारेन्टी हो।’

खनालले सुरक्षाको आवश्यकता स्वीकार गरे पनि शान्ति टिकाउन सुरक्षाभन्दा बढी सुशासन मुख्य कारक हुने बताए। उनका अनुसार सुशासन, अनुशासन र सदाचार स्थापित भए समाज स्वतः स्थिर हुन्छ र व्यवसायिक वातावरण मजबुत बन्छ।

निजी क्षेत्रले हालको संकटपछि पनि उठ्ने मनोबल देखाएको सराहना गर्दै उनले सरकार सुरक्षामा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। ‘सुरक्षाको प्रबन्ध सरकारको जिम्मा हो,’ उनले भने, ‘तर सुरक्षा भन्दा ठूलो सुरक्षा सुशासन नै हो।’

अर्थमन्त्री खनालले प्रधानमन्त्री र गृहमन्त्रीसमेत सुरक्षामा आवश्यक तयारी भइरहेको बताएका भन्दै व्यवसायी तथा लगानीकर्तालाई भरोसा दिलाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad