जसरी बराक ओबामा राष्ट्रपति हुँदा उनका छोरीहरु मालिया र साशा ओबामाको चर्चा हुन्थ्यो त्यसरी नै अहिले चर्चा बटुलिरहेकी छिन् काई म्याडिसन ट्रम्प।
गत मे १२ बाट उनी १८ लागिन्। अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प उनका हजुरबा हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्पका ५ छोराछोरी, दुई ज्वाइँ, एक बुहारी र एक पूर्वबुहारी छन्।
ट्रम्पका ११ नातिनातिनामध्ये जेठी काई डोनाल्ड ट्रम्प जुनियर र उनकी पूर्वपत्नी भानिसाकी छोरी हुन्।
ट्रम्प जुनियर र भानिसाको दाम्पत्य जीवन १३ वर्ष चल्यो। उनीहरुबाट काईसँगै डोनाल्ड तृतीय (१६), ट्रिस्टान (१३), स्पेन्सर (१२) र क्लोई (१०) जन्मिए। २०१८ मा उनीहरु अलग भए तर भानिसा ट्रम्प परिवारनिकटमै रहिन्। पाँच सन्तानमध्ये काईको बेग्लै चर्चा छ इन्टरनेट दुनियाँमा।
यसो हुनुमा खास कारण छ– उनी हजुरबासँग निकै रमाउँछिन्।
विश्वकै शक्तिशाली राष्ट्रपति बस्ने ह्वाइटहाउसको १८ एकड आंगन उनका लागि सामान्य रमाउने स्थान बनेको छ। त्यहाँ उनी कहिले कपडाको विज्ञापन गर्छिन् त कहिले सेल्फी खिचेर दुनियाँलाई देखाउँछिन्।

सामाजिक सञ्जालकी सेलिब्रिटी
इन्टरनेटको संसारमा सामाजिक सञ्जाल उनको सबैभन्दा प्यारो घर हो।
काई सामाजिक सञ्जाल प्रयोगका हिसाबले सामान्य मानिसजस्तै छिन्। उनका ‘गेट रेडी विथ मि’ भिडिओहरु, भाइरल मिमहरु र दोस्रो राष्ट्रपतीय शपथ समारोहमा हजुरबासँग नाच्दै गरेका तस्बिरहरु सामाजिक सञ्जालमा छ्यासछ्यास्ती देख्न पाइन्छ।
सन् २०२४ मा भएको रिपब्लिकन न्याशनल कन्भेन्सन (आरएनसी)मा उनी के झुल्केकी थिइन्, तीन मिनेटको भाषणले उनलाई इन्टरनेटमा खोजिनुपर्ने र सामाजिक सञ्जालमा पछ्याउनुपर्ने व्यक्ति बनाइदियो।
डोनाल्ड ट्रम्प त्यतिबेला पूर्वराष्ट्रपति थिए। उनले डोनाल्ड ट्रम्पलाई ‘नर्मल ग्रान्ड पा’ले सम्बोधन गरेकी थिइन्। जतिबेला ट्रम्प अदालती झमेलासँग जुधिरहेका थिए। त्यसलाई उनले आफ्ना हजुरबालाई नराम्रो गरिएको टिप्पणी गरेकी थिइन्। उनले ट्रम्पकै शब्द सापटी लिएर ‘फेक न्युज’बाट आलोचना भएको उल्लेख गरेकी थिइन्।
‘मिडियाले मेरो हजुरबालाई फरक व्यक्तिजस्तो बनाइरहेको छ तर मलाई थाहा छ, उहाँ साँच्चै को हो ?’, उनले भनेकी थिइन्, ‘र, उहाँले अमेरिकालाई फेरि महान् बनाउन हरेक दिन लड्नुहुनेछ।’
आरएनसीको यो भाषणपछि उनलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या बढ्नथाल्यो। गुगलमा खोज्नेहरु देखिन थाले।

फ्लोरिडा राज्यकी किशोरी काईलाई इन्स्टाग्राममा पछ्याउने १ लाख २५ हजार थिए। भाषण दिएकै राति ह्वात्तै बढेर त्यो संख्या १ लाख ८५ हजार पुग्यो। जुलाईको अन्तिमसम्म त्यो संख्या ३ लाख ३३ हजार भइदियो।
इन्स्टामा उनी राष्ट्रपति ट्रम्पसँगका सेल्फी पोस्ट गर्छिन्। ह्वाइटहाउस जानुअघि नै ‘गेट रेडी विथ मि’ भिडिओले फलोअरलाई कुराउँछिन्।
उनीसँग गल्फ ब्रान्ड टेलरमेड र इनर्जी ड्रिंक्स एक्सिलिरेटर एक्टिभ इनर्जीजस्ता धेरै ब्रान्ड साझेदारहरु छन्।
काईका टिकटकमा अहिले ३५ लाख र इन्स्टाग्राममा २५ लाख फलोअर छन्। युट्युबमा उनलाई १३ लाखले सब्सक्राइब गरेका छन्। एक्समा उनको फलोअर ९ लाख बढीले पछ्याएका छन्।

ह्वाइटहाउसबाटै गर्छिन् व्यवसाय प्रवर्द्धन
उनी फ्लोरिडा राज्यको पाल्म बिचको एक निजी विद्यालय बेन्जामिन स्कुलकी विद्यार्थी हुन्। जहाँ प्रतिवर्ष ट्युसन फि ३८ हजार ५ सय ९५ अमेरिकी डलर लाग्छ। सन् २०२४ को अगस्टमा काईले युनिभर्सिटी अफ मायामीको एनसीएए डिभिजन १ को महिला गल्फ टिममा जोडिने प्रतिबद्धता गरेकी छिन्।
काई प्रतिभाशाली गल्फर हुन्। उनी दक्षिण फ्लोरिडा पीजीएअन्तर्गत अमेरिकन जुनियर गल्फ एसोसिएसन र स्रिक्सन मेडालिस्ट टुरअन्तर्गत जुनियर र अमेचर राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएकी छिन्।
नातिनी र हजुरबाले ह्वाइटहाउसको प्रयोग आफ्नै हिसाबले गरिरहेका छन्। हजुरबा ट्रम्प अमेरिकी प्रभुत्व चलाउँछन्, काई आफ्नै व्यवसायको प्रवर्द्धन। अहिले काई ह्वाइटहाउसको आंगनबाट स्वेटशर्टको विज्ञापन गरिरहेकी छिन्।
सेप्टेम्बरमा मात्रै उनले ह्वाइटहाउसबाटै स्वेटशर्ट सार्वजनिक गरेकी थिइन्। प्रिअर्डरका लागि तयार पारिएको वेबसाइटमा काईले मोडलिङ गरेको स्वेटशर्टको मूल्य १३० अमेरिकी डलर देख्न सकिन्छ। जुन तीन रंगमा आउँछन्। ह्वाइटहाउसबाहिर धेरै ठाउँमा र लिंकन मेमोरियलमा यसलाई किन्न सकिन्छ।
काईले उनको स्वेटशर्ट पहिरनमा हजुरबा ट्रम्पसँगै एयरफोर्स वान (अमेरिकी वायुसेनाको जहाज)मा यात्रा गर्दै इन्स्टामा लेखेकी छिन्–
‘धेरैले यो अवसर पाउँदैनन्, म निकै भाग्यमानी छु।’
त्यसो त उनको यो गतिविधिलाई कतिपयले ‘अनएथिकल (अनावश्यक र अमर्यादित) पनि भन्ने गरेका छन्। तर ट्रम्पसम्बन्धित नैतिक उल्लंघनहरुको सूचीमा यो सामान्य हुन आउने भएकाले धेरैले यसलाई बेवास्ता गर्ने गरेका छन्।
यही सन्दर्भमा सरकारी अधिकारीसँग द वालस्ट्रिट जर्नलले प्रश्न राखेको थियो। ती अधिकारीको जवाफ थियो, ‘यो ठूलो कुरा होइन, किन कि उनी नितान्त निजी व्यक्ति हुन्।’ ह्वाइटहाउसकी प्रवक्ताले काईले ह्वाइटहाउस आंगनमा फोटो खिच्दा कुनै कुरा उल्लंघन नहुने बताएकी छिन्। काईले विज्ञापन गर्ने कुनै प्रडक्टलाई हजुरबाको सरकारले व्यावसायिक समर्थन नगरेकाले पनि यसलाई व्यक्तिगत मानिएको छ।
त्यसकारण पनि काईका गतिविधिले कुनै नराम्रो नहुने ठहर गरिएको छ।
अमेरिकी सरकारको नैतिक पक्ष हेर्ने कार्यालयका लियासन प्याट्रिक सेफर्डले उनको कार्यालयले निजी मामिला भन्दै यसबारे टिप्पणी नगर्ने बताउँछन्।

गल्फ खेल्न हौस्याउँछन् ट्रम्प
जुलाईमा फक्स एन्ड फ्रेन्डस अन्तर्वार्तामा काईले आफ्नो इनर्जी ड्रिंक समर्थन सम्झौताको खुलेर प्रशंसा गरेकी थिइन्। सो क्रममा उनले हजुरबार ट्रम्पले उनलाई ठूलो प्रभाव छोडेको खुलाएकी थिइन्।
‘उहाँले मलाई यसमा काम गरिराख्न भन्नुभएको छ र साँच्चै बितेका वर्षहरुमा मैले गल्फमा पनि राम्रो गर्दै गएको छु। भर्खरै मात्र हजुरबाले लागिरहन सिकाउनुभएको छ’, उनले भनेकी छिन्, ‘म पूरै जीवन हजुरबासँग गल्फ खेल्न रुचाउँछु। हामीसँग नातिनी–हजुरबाको प्यारो साइनो छ।’

अक्टोबरमा काईले वासिङटन डीसीको ट्रम्प न्याशनल गल्फ क्लबमा हजुरबासँगै गल्फ खेलिरहेको भिडिओ पनि पोस्ट गरेकी थिइन्।
‘भिडिओमा हामी कति प्यारो साइनोले जोडिएका छौँ, अझ गल्फ कोर्समा’, उनले एक्समा भनेकी छिन्, ‘यो मेरो अहिलेसम्मकै सबैभन्दा मन पर्ने भिडिओ हो। यसले धेरै ठूलो अर्थ राखेको छ।’
काईले भर्खरै पोडियमतर्फ अघि बढ्दै ‘माई फेलो अमेरिकन्स’ भन्दै सम्बोधन गरेको भिडिओ पोस्ट गरेकी छिन्। यसलाई कतिपयले राजनीतिक भविष्यको संकेतका रुपमा लिए पनि काई भने आफ्नो इनर्जी ड्रिंक्सको प्रोमो भएको बताउँछिन्।
तर के थाहा, ट्रम्प पुस्ताको भविष्य कसरी आउनेछ! अहिलेलाई काई गल्फ र यससँग सम्बन्धित आम्दानी हुने क्षेत्रमै केन्द्रिरत रहेको देखिन्छ। एजेन्सीहरूको सहयोगमा
Shares

प्रतिक्रिया