कारोबार


स्थानीयले जग्गा दिएको २४ वर्षपछि निर्माण भयो बागलुङ बसपार्क

स्थानीयले जग्गा दिएको २४ वर्षपछि निर्माण भयो बागलुङ बसपार्क

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार ५:४७, बागलुङ

लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४ वर्षपछि सदुपयोग भएको छ। 

बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको २४ वर्षमा आधुनिक बसपार्क नियमित सञ्चालनमा आएको छ। बसपार्क बनेको चार वर्षपछि उद्घाटन गरेको बसपार्क उद्घाटन यता समेत नियमित बस चल्न नसकेकोमा नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई प्रदान गरेपछि बस छुट्न थालेका छन्। 

बागलुङ–४ स्थित दाबगरामा पाँच वर्षअघि निर्माण सम्पन्न गरिएको बसपार्कबाट एक महिना यता लामो तथा छोटो दूरीका बस छुटाइएको छ। यसअघि सञ्चालनमा आएको चिप्लेटी बसपार्क बन्द गरेर नयाँ बसपार्क व्यवस्थापनका लागि २५ वर्षका लागि निजी क्षेत्रलाई जिम्मा दिएपछि बस चल्न थालेका हुन्। 

बस चल्न थालेपछि जग्गादाता खुसी भएका छन्। नगरपालिकाले रु. नौ करोड खर्चेर निर्माण गरेको बसपार्कलाई एक वर्षदेखि बसपार्क चलाउन थालिएको प्रयास सफल भएको नगप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। बसपार्क सञ्चालनका लागि पुरानो चिप्लेटी बसपार्कमा भएका सबै टिकट काउन्टर नयाँ बसपार्कमा सारिएको छ। 

नगरपालिकाले बसपार्क क्षेत्रमा सेवा शुल्क संकलन तथा व्यवस्थापनका निम्ति आरबी कन्स्ट्रक्सन पोखरासँग सम्झौता गरेपछि बसपार्क सञ्चालनमा ल्याउन थालिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा र आरबी कन्ट्रक्सन पोखराका प्रतिनिधि केदारप्रसाद रिजालबीच बसपार्क व्यवस्थापनको जिम्माका लागि सम्झौता भएपछि बसपार्कबाट बस छुट्न थालेका हुन्। 

नगरपालिकाको आन्तरिक आय जम्मा गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ६२ को उपदफा २ बमोजिम नगरपालिकाको बसपार्क व्यवस्थापन ऐन २०८१ र आर्थिक ऐन २०८२ मा व्यवस्था भए बमोजिम नगरपालिकाले तोकेको दरमा कर संकलन प्रयोजनार्थ उक्त कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको थियो।

बसपार्क सञ्चालन र व्यवस्थापन पाएको कन्स्ट्रक्सनले २५ वर्षमा कुल रु. आठ करोड ५५ लाख ६१ हजार १७२ नगरपालिकालाई भुक्तानी गर्नेछ। त्यसको वार्षिक झण्डै रु १६ लाख २५ हजार नगरपालिकालाई कन्स्ट्रक्सनले भुक्तानी दिने छ।

सम्झौता पत्रमा सवारीसाधन पार्किङको दरसमेत नगरपालिकाले कायम गरेको छ। सोहीअनुसार कन्स्ट्रक्सनले उठाउने र नगरपालिकालाई भुक्तानी दिइनेछ। 

कुल १७ रोपनी आठ आना क्षेत्रफलमा फैलिएको बसपार्क क्षेत्रमा सुविधा सम्पन्न भवन र २३ वटा सटर तथा तीन टिकट काउण्टर, पाँच शौचालय, इभी चार्जर जडान गर्ने स्थानलगायत संरचना निर्माण भएका छन्। बसपार्कका सटरहरूको तीन हजार ५०० सयदेखि १० हजारसम्म मासिक भाडा कायम गरिएको छ। 

सवारीसाधनअन्तर्गत रात्रिबसको पार्किङ शुल्क रु. २०० देखि मोटरसाइकलको रु १० सम्म पार्किङ शुल्क तोकिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ। नगर विकास कोषको ऋणमा नगरपालिकाले रु. नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो।

बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ।

विसं २०५८ मा कुल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए। त्यसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको थियो। अन्य जग्गा घडेरीका रूपमा जग्गा धनीलाई फिर्ता गर्नुपर्ने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad