कारोबार


थकाली भान्साघर संघलाई उद्योग विभागबाट आधिकारिक ट्रेडमार्क, थकाली खानाको ब्रान्ड जोगिने विश्वास

थकाली भान्साघर संघलाई उद्योग विभागबाट आधिकारिक ट्रेडमार्क, थकाली खानाको ब्रान्ड जोगिने विश्वास

नेपालखबर
असार २२, २०८३ सोमबार २०:३९, काठमाडौँ

थकाली भान्साघर संघ नेपालले सरकारबाट आधिकारिक मान्यता प्राप्त गरेको छ। उद्योग विभागले सोमबार ‘थकाली भान्साघर संघ नेपाल’को नाममा कलेक्टिभ ट्रेडमार्क र लोगो प्रदान गर्‍यो।

विभागका महानिर्देशक जितेन्द्र बस्नेतले प्रमाणपत्र प्रदान गरे। संघका अध्यक्ष विवेक तुलाचनका अनुसार ३ वर्षको अथक प्रयासपछि संस्थाले ट्रेडमार्क प्राप्त गरेको हो। यो उपलब्धिले  देशभर रहेका संघमा आबद्ध सदस्य थकाली भान्साघरहरूलाई आधिकारिक पहिचान दिनेछ। 

अब संघमा आबद्ध सदस्यले होटल वा रेस्टुरेन्टमा आधिकारिक कलेक्टिभ ट्रेडमार्क लोगो प्रयोग गर्न सक्नेछन्। यसबाट ग्राहकले प्रमाणित तथा आधिकारिक थकाली भान्साघर सजिलै चिन्ने अपेक्षा गरिएको तुलाचनले बताए।

बजारमा थकाली नाम प्रयोग गर्ने धेरै व्यवसाय सञ्चालन भइरहेका कारण वास्तविक तथा प्रामाणिक (अथेन्टिक) थकाली भान्साघर कुन हो भन्ने विषयमा अन्योल रहेको अध्यक्ष तुलाचनले बताए। यही अन्योल हटाउन र आधिकारिक थकाली भान्साघरको पहिचान स्थापित गर्न कलेक्टिभ ट्रेडमार्क लोगो प्राप्त गरिएको उनले स्पष्ट पारे।

उनका अनुसार लोगो प्रयोग गर्ने सदस्य संस्थाले ग्राहकले अर्डर गरेअनुसारको गुणस्तरीय तथा निर्धारित सेवा उपलब्ध गराउनुपर्नेछ। यदि लोगो प्रयोग गर्ने संस्थाले निर्धारित मापदण्डअनुसार सेवा वा खाना उपलब्ध गराउन नसके आवश्यक कारबाहीको व्यवस्था पनि गरिने उनले जानकारी दिए।

कलेक्टिभ ट्रेडमार्क प्राप्त भइसकेपछि उक्त नाम र लोगो अन्य व्यक्ति वा संस्थाले अनधिकृत रूपमा प्रयोग गर्न नपाउने बताए। यसले थकाली भान्साघरको मौलिकता, विश्वसनीयता र ब्रान्ड पहिचानलाई थप मजबुत बनाउने उनको विश्वास छ।

संघले यसअघि पनि आधिकारिक रूपमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको भए पनि कलेक्टिभ ट्रेडमार्क प्राप्त भएपछि अब कानुनी रूपमा पनि यसको पहिचान थप सुदृढ भएको जनाएको छ।

अहिले काठमाडौंमा संस्थाका ६७ सदस्य छन्। निकट भविष्यमा उपत्यकाबाहिर पनि सदस्यता विस्तार गरिने अध्यक्ष तुलाचनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad