कारोबार


जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार १४:४८, जुम्ला

खेतमा लटरम्मै पाकेको मार्सीधान काट्न जुम्लाका किसानलाई अहिले यहाँ भ्याइनभ्याइ भएको छ।  देशभर तिहार पर्वको रौनकका बीच जुम्लाका किसान भने एकाबिहानै धानखेतमा पुगेर बेलुकी अबेरसम्म धान काटेर घर भित्र्याउन व्यस्त हुन परेको चन्दननाथ नगरपालिका–२ का स्थानीय लक्ष्मी कुमाईले बताए। 

यहाँका अधिकांश किसान दसैँ सकिएलगत्तै तिहार पर्व पनि नभनी धान काट्न व्यस्त देखिन्छन्। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लाको पहिचानका रुपमा रहेको मार्सीधानखेती गर्ने आफ्नै क्यालेन्डर छ, त्यही क्यालेन्डरका आधारमा जिल्लाका किसानहरु धान भित्र्याउन फाँटहरूमा व्यस्त छन् । किसानलाई मौसमले साथ दिएको छ। 

धान चैतमा बीउ राख्ने, जेठदेखि असारसम्म रोपाइँ गर्ने, साउन भदौमा गोड्ने र असोज–कात्तिकभित्र धान काटेर घरमा भित्र्याउने गरेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ। किसानहरू बर्खेबाली धानसहित कोदो, सिमी र फापरलगायतका बालीनाली भित्र्याउने चटारोमा छन्।    

कृषि कार्यालयका अनुसार आव २०८०/८१ मा जुम्लामा तीन हजार मेट्रिकटन मार्सी धान उत्पादन भएकामा २५० मेट्रिकटन जिल्लाबाहिर निर्यात भएको थियो। जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा पछिल्ला वर्षहरूमा क्रमशः मार्सीधान लगाउने क्षेत्रफल घट्दै गएको कार्यालयले जनाएको छ। 

गत वर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष भने एक हजार २०० हेक्टरमा मात्र खेती भएको कृषि विकास कार्यालयले जनाएको छ। अहिले यहाँका किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ–एक र चन्दननाथ–तीन का साथै लेकाली–एक र लेकाली– तीन जातको धान रोप्ने गरेका छन्।

जुम्ली मार्सीधान पहिचानसँग जोडिएको छ। अहिले मार्सी चामल सदरमुकाम खलङ्गामा प्रतिकेजी १८० रुपैयाँमा किनबेच भइरहेको छ। विशेषगरी जुम्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले मार्सी चामल लिन गरेको सदरमुकामस्थित रारालिही अग्र्यानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad