डेढ सातामै सुनको मूल्य तोलामा २७ हजार रुपैयाँभन्दा धेरै बढेको छ।
यही असोज १९ गतेदेखि आजसम्म (१२ दिनको अवधिमा) सुनको मूल्य तोलामा २७ हजार सातसय रुपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले नेपालमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन्।
सुनको मूल्य आज तोलामा दुई लाख ५० हजार नौसय रुपैयाँ पुगेको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
यही असोज १९ गते तोलामा सात हजार चारसय रुपैयाँ बढेयता सुनको मूल्य लगातार बढिरहेको छ।
दसैँअघि (असोज १२ गते) सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ थियो। दसैँ अवधिभरि सुनको नयाँ मूल्य निर्धारण भएको थिएन। दसैँ सकिए लगत्तै (असोज १९ गते) सुनको मूल्यमा उच्च वृद्धि भएको थियो। त्यसयता हरेक दिनजसो सुनचाँदीकै मूल्य बढिरहेको छ।
गएको मंगलबार सुन तोलामा आठ हजार एकसय रुपैयाँ बढेको थियो।
आज तोलामा दुई हजार रुपेयाँ बढेर सुन तोलाको दुई लाख ५० हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको मंसिर १० गते एकैदिनमा सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ अहिले फेरि उच्च भएको हो।
Shares

प्रतिक्रिया