कारोबार


हबिब बैंकले पायो हिमालयन बैंकको सेयर नेशनल लाइफलाई बेच्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

हबिब बैंकले पायो हिमालयन बैंकको सेयर नेशनल लाइफलाई बेच्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

नेपालखबर
असोज २६, २०८२ आइतबार १६:३८, काठमाडौँ

पाकिस्तानको हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर नेशनल लाइफ इन्स्योरेन्सलाई बेच्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ।

राष्ट्र बैंकले आइतबार सेयर खरिदबिक्रीका लागि हबिबलाई अन्तिम स्वीकृति दिएको हो।

राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरु प्रसाद पौडेलले आइतबार अन्तिम स्वीकृतिसहितको पत्र दिइएको नेपालखबरलाई जानकारी दिए। 

‘राष्ट्र बैंकले आज सेयर बिक्रीका लागि स्वीकृति प्रदान गरेको छ’, उनले भने। 

गभर्नरस्तरीय निर्णय गरेर राष्ट्र बैंकले हबिबलाई सेयर बिक्रीको लागि स्वीकृति दिएको उनले जानकारी दिए।

योसँगै अब नेशनल लाइफ इन्स्योरेन्सले हबिब बैंकको स्वामित्वमा रहेको हिमालयन बैंकको २ करोड ८० लाख १४ हजार ४ सय ४७ कित्ता सेयर आफ्नो नाममा ल्याउनेछ।

गत जेठमा हबिब बैंकले आफ्नो नाममा रहेको हिमालयन बैंकको २ करोड ८० लाख १२ हजार ४ सय ४७ कित्ता सेयर गत जेठ ३० गते बिक्रीमा राखेको थियो। पटक–पटक बिक्री गर्न नसकेर रोकिँदै आएको उक्त सेयर पछिल्लो जेठमा भने बिक्री प्रक्रियामा गएको थियो। 

बिक्रीमा राखेको करिब ४ महिनापछि नेशनल लाइफ इन्स्योरेन्सलाई बिक्री गर्न अनुमति पाएपछि हबिब बाहिरिने अन्तिम चरणमा पुगेको छ।

गत भदौमा सेयर खरिदबिक्रीका लागि हबिब र नेशनल लाइफबीच सेयर खरिदबिक्री सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

सो सहमतिपछि हिमालयन बैंकले नेपाल राष्ट्र बैंकलाई सेयर खरिदबिक्रीका लागि स्वीकृति माग गर्दै निवेदन दिएको थियो। उक्त निवेदनउपर राष्ट्र बैंकले आइतबार औपचारिक स्वीकृति दिएको हो।

अब नेशनलले हबिब बैंकले प्रतिकित्ता १ सय १२ रुपैयाँ ० पैसाका दरले उक्त सेयर बिक्रीमा राखे पनि बोलकबोलमा नेशनल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १ सय १८ रुपैयाँ ८८ पैसामा खरिद गर्नेछ।

हाल हिमालयन बैंकमा नेशनल लाइफको १.२५ प्रतिशत सेयर स्वामित्व छ। 

हबिब बैंकले हिमालयन बैंकबाट सेयर बेचेर करिब ७ वर्षअघि नै बाहिरिन चाहेको थियो। जसका लागि उसले ७ वर्ष अगाडि नै सेयर बेच्न खोजे पनि सकेको थिएन।

पछिल्लो चरणमा पनि हिमालयन रिलाई बिक्री गर्ने सम्झौता भए पनि हिमालयन भने अन्तिममा आउट हुन पुगेको थियो।

बिचौलिया दीपक भट्टले हिमालयन रिमार्फत हबिबको स्वामित्वमा रहेको सेयर लिने प्रयासमा रहेर खरिद प्रक्रिया अगाडि नै सम्झौता गरे पनि खरिद आह्वान गर्दा नेशनल लाइफ सफल भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad