कारोबार


१४ वर्षदेखि अलपत्र कन्काई पुल निरीक्षणमा पुगे कुलमान, छिट्टै निर्णय गरिने

१४ वर्षदेखि अलपत्र कन्काई पुल निरीक्षणमा पुगे कुलमान, छिट्टै निर्णय गरिने

नेपालखबर
असोज २६, २०८२ आइतबार १४:२०, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन्।

हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगतिबारे जानकारी लिनुका साथै स्थानीयसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ। 

करिब ७२३ मिटर लम्बाइ भएको पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७/६८ मा पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी)सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ। 

लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख गर्दै मन्त्री घिसिङ अव यसको विस्तृत रुपमा अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताए। 

उनले भने, ‘पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने या के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्ने बारे तत्काल निर्णय लिनेछौँ, जनजीविकासँग जोडिएको रणनीतिक महत्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौँ, चाँडै निकास दिन्छौँ।’

स्थानीय बासिन्दाबाट पुल नहुँदा सास्ती व्यहोर्नुपरेको, व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न माग गरिएको थियो। 

निर्माण व्यवसायीका तर्फबाट २०७६ सम्म काम गरिएको थियो। तर, निर्माणमा त्रुटि देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो। प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटिलाई सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो। ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ। सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधनबमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ। 

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको विमसम्म (गर्डर) हालिएको छ। ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी रहेको छ। 

यसैगरी, मन्त्री घिसिङले असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका—२ स्थित कन्काई सानोमाई खोला पुलको पनि निरीक्षण गरेका थिए। 

बाढीका कारण उक्त पुल भाँचिएको थियो। उहाँले पुलको प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन आग्रह गरे। मन्त्री घिसिङको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, गृह सचिव रामेश्वर दङ्गाल, सडक विभागका महानिर्देशक विजय जैशी, झापा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलगायत थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad