समाज


धानबालीमा फड्के कीराको सङ्क्रमण

धानबालीमा फड्के कीराको सङ्क्रमण

नेपालखबर
असोज २६, २०८२ आइतबार १४:१३, पर्वत

जिल्लाको पैँयु र विहादी गाउँपालिकाका विभिन्न वडामा धानबालीमा फड्के कीराको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ। 

धान फलेर पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण बढेपछि कृषक चिन्तित बनेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार कृषि प्राविधिकको स्थलगत अनुगमनका क्रममा ती क्षेत्रमा कीराको आक्रमणका कारण धानबालीमा व्यापक क्षति पुगेको पाइएको छ। 

फड्के कीराको बयस्क र बच्चा दुवै चरणले धानको पातको फेदबाट रस चुस्ने हुँदा बोटका पात पहेँलो हुने, फोस्रा दाना लाग्ने र उत्पादनमा उल्लेख्य गिरावट आउने खतरा रहेको केन्द्रले जनाएको छ। अत्यधिक आक्रमण भएका क्षेत्रमा धानका बोट नै सुक्ने अवस्थासमेत देखिएको छ। त्यसलाई ‘होपर बर्न’ समस्या रहेको बुझिने केन्द्रले जनाएको छ। 

कृषि ज्ञान केन्द्रका प्रमुख पर्शुराम अधिकारीले पैँयु गाउँपालिकाअन्तर्गतका केही वडामा फड्के कीराको सङ्क्रमण फैलिरहेको बताए। उनले सङ्क्रमण नियन्त्रणका लागि अनुगमन र प्राविधिकको रिपोर्टका आधारमा विषादी सिफारिस गरिएको बताए। 

उनका अनुसार, उच्च आद्रता, खेतमा स्थायी पानी जम्ने अवस्था, असमान रोपाइँ समय, अत्यधिक नाइट्रोजनयुक्त मलको प्रयोग र कीटनाशक विषादीको अनियन्त्रित प्रयोग कीराको वृद्धि हुने प्रमुख कारण रहेका छन्। 

यस्ता कीराले धानमा लाग्ने भाइरसजन्य रोग सार्ने माध्यमको काम पनि गर्ने भएकाले थप सावधानी अपनाउनुपर्ने अधिकारीले बताए। 

सङ्क्रमण न्यूनीकरणका लागि रोपाइँ एउटै समयमा सम्पन्न गर्ने, खेतमा हावापानीको उचित व्यवस्था मिलाउने, युरिया मलको सन्तुलित प्रयोग गर्नुपर्ने, अनावश्यक रूपमा विषादी प्रयोग नगर्ने, मित्र कीटको संरक्षण गर्ने र गुणस्तरयुक्त विषादीको प्रयोग गर्नुपर्ने उनको भनाइ छ। 

अधिकारीका अनुसार, कृषकलाई आवश्यक जानकारी दिन प्राविधिक परिचालन गरिएको छ। साथै, सङ्क्रमण रोकथामका लागि खेतको नियमित अवलोकन र कीट व्यवस्थापनमा विशेष सतर्कता अपनाउन सुझाव दिइएको केन्द्रले जनाएको छ। 

कृषि ज्ञान केन्द्रले कीराको सङ्ख्या बढी देखिएका क्षेत्रमा विषादी प्रयोग गर्दा धानको बोटको फेदमा पुग्नेगरी छर्कन आग्रह गरेको छ।

पर्वतका अन्य क्षेत्रमा पनि यस्तै समस्या देखिनसक्ने भएकाले सावधानी अपनाउन कृषक र स्थानीय तहलाई जानकारी गराइएको छ। रोग निदानका लागि कृषकलाई तीन पटकसम्म खेतमा पानी एक हप्ता राखी त्यसपछि पानी निकास गर्ने र चार पाँच दिन खेत सुक्खा राख्नेगरी सिँचाइको व्यवस्था गर्न सुझाव दिइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad