कारोबार


चाडपर्वमा दूध र दुग्धजन्य पदार्थको स्वच्छतामा ध्यान दिन महानगरको आग्रह

चाडपर्वमा दूध र दुग्धजन्य पदार्थको स्वच्छतामा ध्यान दिन महानगरको आग्रह

फाइल फोटो


नेपालखबर
असोज २१, २०८२ मंगलबार २१:१७, काठमाडौँ

काठमाडौँ महानगरले चाडपर्वको समयमा दूध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छतामा ध्यान दिन आग्रह गरेको छ। 

महानगरको कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेले चाडबाडको समयमा दुग्धजन्य वस्तुको अत्यधिक खपत हुने भएकाले त्यसको गुणस्तरमा ख्याल गर्न आग्रह गरेका हुन्। 

विशेष गरी बालबालिका र वृद्धवृद्धाले बढी दूधजन्य वस्तु उपभोग गर्ने भएकाले उक्त समूह सबैभन्दा जोखिममा पर्ने भन्दै स्वच्छतामा ध्यान दिनुपर्ने उनको भनाइ छ।

‘दूध र दुग्धजन्य पदार्थ प्रायः सबै उपभोक्ताले उपभोग गर्ने भएकाले सानो गल्ती हुँदा पनि स्वास्थ्यमा समस्या हुनसक्छ। त्यसैले उपभोक्ताका साथै दूधमा प्रयोग हुने पानीको गुणस्तर, बिक्री–वितरणका लागि प्रयोग हुने प्लास्टिक वा रबरको गुणस्तर, भण्डारणको तरिका आदिमा व्यवसायीहरू निकै सचेत हुनुपर्छ’, न्यौपानेले भने।    

महानगरले उपभोक्ताको हितका लागि खाद्य स्वच्छता कायम राख्न विविध कार्यक्रम गर्दै आएको छ। महानगरद्वारा सञ्चालित खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले अब व्यवसायलाई सुदृढ तथा व्यवस्थित बनाउन डेरी पसल र साना दूध तथा दुग्ध पदार्थ प्रशोधन व्यवसायी सुधारको कामसमेत गरिनुपर्ने बताए। 

‘उक्त कार्यक्रममा दूध र दुग्धजन्य व्यवसायसँग सम्बन्धित कानुनी प्रावधान, व्यवसाय सञ्चालनमा अपनाइएका र अपनाउनुपर्ने अभ्यास, खाद्य स्वच्छता कायम गर्ने तरिका, बिक्री–वितरण र प्रशोधनस्थलको अवस्था, आवश्यक भौतिक संरचना, लेबलिङ प्रक्रिया, उत्पादनको स्वाद परीक्षणलगायत विषयमा पनि ध्यान दिन आवश्यक छ। हामीले यो सुझाव दिइएका छौँ’, उनले भने। 

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार दूषित खानपानका कारण विश्वभर करिब ६० करोड मानिस बिरामी पर्ने र वार्षिक चार लाख २० हजारको मृत्यु हुने गरेको छ। त्यसैले रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने विज्ञहरूले सुझाव दिने गरेका छन्। 

नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपकप्रसाद धमला स्वच्छताका विषयमा निरन्तर प्रशिक्षण हुनुपर्ने आवश्यकता औँल्याउँछन्। ‘प्रत्येक वर्ष नयाँ व्यवसायी र नयाँ प्रविधि भित्रिन्छ। मानिसले जानेकै कुरा पनि व्यवहारमा अपनाउँदैनन्, त्यस विषयमा ध्यान दिन सचेतना  र प्रशिक्षण दिन आवश्यक छ’ उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad