कारोबार


विपद् उद्धारका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई कुलमानको निर्देशन

‘सतर्क भएर मात्र यात्रा गरौँ’
विपद् उद्धारका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई कुलमानको निर्देशन

नेपालखबर
असोज १८, २०८२ शनिबार १३:४३, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार साँझदेखि आइतबार मध्यान्हसम्म भारी तथा आति भारी वर्षाको सम्भावना रहेकाले सतर्क भएर मात्र यात्रा गर्न आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले शनिबार राति ७/८ बजेबाट आइतबार मध्यान्ह १२÷१ बजेसम्म काठमाडौं उपत्यकाकालगायत देशका विभिन्न भागमा भारी वर्षको पूर्वानुमान गरेको उल्लेख गर्दै मन्त्री घिसिङले सतर्क भएर यात्रा गर्न सबैलाई आग्रह गरेका हुन्।  

भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी, पहिरो, डुबान एवम् त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमका विषयमा मन्त्री घिसिङले शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभाग, जलस्रोत तथा सिँचाइ विभाग, जल तथा मौसम विज्ञान विभागका महानिर्देशकसँग जानकारी लिई सबैलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। 

कर्मचारी तयारी अवस्थामा रहन र उपकरणलाई तयारी अवस्थामा राख्न घिसिङले निर्देशन दिनुभयो । वर्षाले सडक, सिँचाइ र जलविद्युत आयोजनाका संरचना र उपकरणमा ठूलो क्षति पुर्याउने भएकाले गेट सञ्चालनलाई विशेष ध्यान दिन र खोला÷नदी किनारमा रहेका उपकरणहरु सुरक्षित स्थानमा सार्न घिसिङले निर्देशन दिए। उनले सुरक्षा निकायसँग समन्वय गरी विपद्का सूचनामा एकरुपता कायम गरी तत्काल अद्यावधिक सूचना सम्प्रेषण गर्न आग्रह गरे। 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले बंगालको खाडीबाट भारतको उडिसा, झारखण्ड हुँदै नेपालतर्फ भित्रिएको प्रणालीबाट अहिले वर्षा भइरहेको र सोमबारबाट पूर्वतर्फबाट प्रणाली बाहिरिने बताए। 

उनले यस वर्षको प्रणाली पोहोरकोजस्तै ढाँचाको रहेकाले यसबाट आउनसक्ने विपद्का बारेमा तयारी अवस्थामा रहनु पर्ने उल्लेख गरे। उनले सोमबार बिहानसम्म उच्च सर्तकता अपनाउनुपर्ने बताए। 

सडक विभागका महानिर्देशक विजय जैसी र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले बाढी, पहिरो र डुबानबाट आउन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको जानकारी गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad