कारोबार


बर्खा सकिनै लाग्यो, कुलेखानी जलाशयको ७३ प्रतिशत खाली (तस्बिरहरू)

बर्खा सकिनै लाग्यो, कुलेखानी जलाशयको ७३ प्रतिशत खाली (तस्बिरहरू)

जनार्दन पोखरेल
असोज १२, २०८२ आइतबार १४:४२, काठमाडौँ

यस वर्ष नेपालमा कम वर्षा भएको प्रत्यक्ष प्रभाव मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा देखिएको छ।

मनसुन अन्तिम अवस्थामा आइपुग्दासमेत यसवर्ष कुलेखानी जलाशयको ७३ प्रतिशत भाग खाली छ। 

कुलेखानी नेपालको एकमात्रै जलाशययुक्त आयोजना हो। यसको पूर्ण क्षमता समुद्र सतहबाट एक हजार ५३० मिटर हो। तर, आज (आइतबार) बिहानको मापनअनुसार यो जलाशयमा एक हजार ५०४ दशमलब १ मिटर मात्रै पानी जम्मा भएको छ। 

‘यो भनेको कुलेखानी जलाशयमा अहिले क्षमता भन्दा झण्डै २६ मिटर (७३ प्रतिशत) कम पानी छ भन्ने हो,’ कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले आइतबार दिउँसो नेपालखबरसँग भने, ‘यस वर्ष यो क्षेत्रमा पानी नै कम पर्यो, त्यसको प्रत्यक्ष असर कुलेखानी जलासयमा देखिएको छ।’

गत वर्ष आजकै दिन (२०८१ असोज १२ गते) कुलेखानीमा पानीको सतह १ हजार ५३१ मिटर पुगेको थियो। त्यतिबेला जलाशयमा क्षमताभन्दा बढी पानी जम्मा भएर ढ्याम फुट्ने खतरा बढेपछि आयोजनाले जलाशयका दुईबाट ढोकाबाट पानी खोलामा छाडिदिएको थियो। त्यसबाट आयोजनाको तटीय क्षेत्रमा ठूलो जनधनकोसमेत क्षति भएको थियो। 

यस वर्ष जलाशयमा पानी पर्याप्त संचित नहुँदा आयोजनाबाट विद्युत् उत्पादन ठप्प छ। 

आयोजना प्रमुख भट्टका अनुसार अब पानी परेर जलाशयमा पानीको सतह बढेन भने यस वर्ष हिँउँदमा कुलेखानीबाट विद्युत् उत्पादन हुने अवस्था देखिँदैन।

‘त्यतिबेला भारतबाट खरिद गर्ने बिजुलीको परिमाण अहिलेभन्दा बढ्न सक्छ,’ भट्टले भने, ‘आजभोलि जलाशयमा दैनिक १० देखि १५ सेन्टिमिटर मात्रै पानी थपिने गरेको छ। अब मनसुन पनि सकिन लाग्यो। पानी पर्ने क्रम घट्दै गएको छ। अब के भरिएला र?’

कुलेखानी जलाशयमा ६/७ वटा खोलाको पानी जम्मा हुन्छ। यस वर्ष मनसुनमा समेत मजाले वर्षा नभएकाले कुलेखानी जलाधार क्षेत्रका खोलामा पनि पानीको मूल फुटेको छैन। 

अब पानी परेन भने यस वर्ष जलाशयमा बर्खा अवधिभरमा एक हजार पाँच सय १० मिटर भन्दा माथि पानी जम्मा हुने सम्भावना नरहेको भट्टको अनुमान छ।  

नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। त्यो मिति आउन अब चार दिन मात्रै बाँकी छ। 

तर, त्यसअघि नै देशभर मनसुन क्रमशः कमजोर बन्दै गएको छ। मनसुनी गतिविधि कमजोर भए पनि अझै ठाउँठाउँमा सानोतिनो वर्षा भने भइरहेको मौसमविद् डेबिट ढकालले बताए। 

नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिक भए पनि त्यसपछि पानी पर्दैन भन्न नसकिँने उनको भनाई छ। अहिलेसम्मको सिनारियो हेर्दा यस वर्ष अक्टोबर २ पछि पनि मनसुन सक्रिय रहने सम्भावना देखिन्छ, उनले भने।

उनले कहिले काहीँ मनसुन बाहिरिएपछि पनि भारी वर्षा भएका रेकर्डहरु नेपालमा रहेका बताए।

‘त्यसैले अब अब बर्खा सकियो, अब पानी नै पर्दैन भन्न चाहिँ मिल्दैन,’ उनले भने, ‘यसअघिका कतिपय वर्ष असोज अन्तिम र कात्तिक जस्ता महिनामा पनि कतैकतै भारी वर्षा भएका इतिहास छन्। त्यसरी पानी पर्दा कुलेखानी भरिन्छ भरिन्न हामी भन्न सक्दैनौँ, तर अझै पानी पर्ने सम्भावना भने समाप्त भइसकेको छैन।’

हेर्नुहोस्  कुलेखानी आयोजनाका थप तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad