कारोबार


५३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, उद्योग मन्त्रालय भन्छ- दैनिक उपभोग्य सामग्रीको अभाव छैन

५३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, उद्योग मन्त्रालय भन्छ- दैनिक उपभोग्य सामग्रीको अभाव छैन

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १७:४०, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्रीको अभाव नरहेको स्पष्ट पारेको छ।

मन्त्रालयले आज निजी क्षेत्रका छाता संघ संगठन उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्श, महिला उद्यमी महासंघ नेपाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग छलफल गरी पेट्रोल लगायत दैनिक उपभोग्य सामग्रीको अभाव नरहेको मन्त्रालयका अधिकारीहरूले स्पष्ट पारेका हुन्।

कार्यक्रममा हालै मुलुकमा उत्पन्न विशेष परिस्थितिबाट समग्र उद्योग, वाणिज्य, व्यापार तथा आपूर्ति क्षेत्रमा परेको प्रभावका साथै नजिकिँदै गएको चाडपर्वमा गर्नुपर्ने आपूर्ति तथा बजार व्यवस्थापनका सम्बन्धमा छलफल अन्तरक्रिया भएको मन्त्रालयले जनाएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी संरचना र निजी व्यावसायिक संस्थाहरूमा भएको आगजनी, तोडफोड र क्षतिको एकीकृत विवरण तयार गर्ने, औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी संरक्षण र प्रवर्धन गर्ने, निजी क्षेत्रको मनोबल उकास्ने र क्षतिग्रस्त संरचनाको पुनर्स्थापनाबारे समीक्षा गरिएको छ।

यस क्रममा सिर्जित असहज परिस्थिति विस्तारै सहज बन्दै गएको, अन्तर्राष्ट्रिय व्यापारका सीमा नाकाहरूमा भन्सार कार्यालयहरू सञ्चालन भई देशभर ढुवानी प्रणाली सहज भएको र व्यापार व्यवसायहरू पुनः सञ्चालन भई आपूर्ति श्रृङ्खला सुचारू भएको विषयमा मन्त्रालयका तर्फबाट जानकारी गराइयो।

छलफलबारे जानकारी दिँदै मन्त्रालयले भनेको छ, ‘आसन्न चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत् देशभर आजैदेखि जम्मा सय ५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिएको र बजारमा दैनिक अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नरहेकाले माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन र अत्याधिक वस्तु सञ्चित नगर्न/नगराउन सम्पूर्ण उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, संचयकर्ता, विक्रेता लगायत व्यवसायीहरू र आम उपभोक्तालाई अनुरोध गर्ने तथा नियमित बजार अनुगमनका क्रममा उपभोक्ता अधिकारको हनन् तथा आपूर्ति श्रृङ्खलामा कुनै किसिमको अवरोध हुने गरी कार्य भएको पाइएमा कानून बमोजिम कारबाही गर्ने प्रतिबद्धता भयो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad