नेपाल उद्योग परिसंघ (सीएनआई)ले सोमबारको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ।
‘सीएनआई निर्दोषहरूको ज्यान जाने कुनै पनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा समेत गर्दछ’, सीएनआईले भनेको छ, ‘साथै, हिजोको घटना र भएको मानवीय क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’
युवाहरूको ऊर्जा, रचनात्मकता र आकाङ्क्षामा निर्भर रहेको भन्दै सीएनआईले हिंसाको माध्यमबाट ती आवाजलाई दबाईनु राष्ट्रकै लागि ठूलो क्षति भएको बताएको छ।
‘नेपालको उत्पादन तथा सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्था परिसंघ संयमता अपनाउन सबै सरोकारवालाहरूलाई अपिल समेत गर्दछ । साथै शान्ति, सुरक्षा र रचनात्मक संलग्नतालाई प्राथमिकता दिन आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
नेपालको समृद्धिको मार्गमा द्वन्दभन्दा संवाद, विभाजनभन्दा समझदारी र सबैभन्दा माथि नागरिकको सुरक्षा हुनुपर्छ भन्नेमा परिसंघ स्पष्ट रहेको उल्लेख छ।
परिसंघ लोकतान्त्रिक अभिव्यक्तिलाई सुरक्षित राख्ने र त्यसका साथै कानुन, व्यवस्था र मानव जीवनको पवित्रता सुनिश्चित गर्ने पहलको समर्थन गर्दै आइरहेको समेत जनाइएको छ।
Shares

प्रतिक्रिया