कारोबार


सञ्चार मन्त्रालयमा यी ५ सामाजिक सञ्जाल मात्रै सूचीकृत, २ वटा प्रक्रियामा, अरु निष्क्रिय हुने

सञ्चार मन्त्रालयमा यी ५ सामाजिक सञ्जाल मात्रै सूचीकृत, २ वटा प्रक्रियामा, अरु निष्क्रिय हुने

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १६:९, काठमाडौँ

नेपालमा संसारका अधिकांश चर्चित सामाजिक सञ्जालहरु निष्क्रिय हुने भएका छन्। 

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सात दिनको समय दिए पनि नआएका कारण सामाजिक सञ्जालहरु निष्क्रिय अवस्थामा पुग्ने देखिएको हो। 

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले पाँचवटा सामाजिक सञ्जाल मात्रै हालसम्म मन्त्रालयमा सूचीकृत भएको नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार टिकटक, विटक, भाइबर, पोपोलाइभ र निम्बज सूचीकृत भएका छन्। त्यसैगरी टेलिग्राम र ग्लोबल डायरी प्रक्रियामा रहेको ठाकुरको भनाइ छ। यद्यपि टेलिग्रामलाई यसअघि नै सरकारले नेपालमा निष्क्रिय बनाइसकेको छ। 

कुन कुन चल्दैनन्? 
प्रवक्ता ठाकुरका अनुसार उक्तबाहेकका सबै सामाजिक सञ्जाल अब सूचीकरण नभएसम्मका लागि निष्क्रिय रहनेछन्। 

सरकारले सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी परेको ०८०–सीएफ–००१२ नम्बरको मुद्दामा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालनपूर्व अनिवार्य रुपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामग्रीहरुको मूल्यांकन र अनुगमन गर्न निर्देशनात्मक आदेश दिएको थियो। 

सोही आदेशमा टेकेर मन्त्रालयले बिहीबार सूचीकरण नहुने सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णय गरेको हो। यद्यपि सूचीकरण भए तत्काल सक्रिय पार्न सकिने पनि मन्त्रालयले सूचनामा उल्लेख गरेको छ। यसअघि यही भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयले जारी गरेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० अनुसार सूचीकरण हुन ७ दिनको समय दिने निर्णय गरेको थियो। सोअनुसार १२ गतेदेखि ७ दिनका लागि सामाजिक सञ्जालहरुले सूचीकरण हुने समय पाए पनि कुनै पनि नआएका हुन्। 

योसँगै अब फेसबुक, ट्विटर, इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएप, लिंक्डइन, रेडिटजस्ता चर्चित सामाजिक सञ्जाल एपहरु निष्क्रिय हुनेछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad