नयाँ दिल्लीबाट ८ घण्टामै नेपाल आइपुग्ने गरी भारतले सडकको निर्माण अन्तिम चरणमा पुर्याएको छ।
गोरखपुर हुँदै सुनौलीसम्मको यो राजमार्ग निर्माणसम्पन्न हुँदा दिल्लीबाट नेपाल आउन लाग्ने १२ घण्टाभन्दा बढीको समय घटेर ८ घण्टामा सीमित हुने भारत सरकारको दाबी छ।
यो भारत सरकारको २३ अर्ब ३२ करोड रुपैयाँ (१४ अर्ब ५८ करोड भारु) लगानीमा नेपाल-भारत जोड्ने अन्तर्राष्ट्रियस्तरको राजमार्ग हो। अन्तर्देशीय करिडोर निर्माणले भारत र नेपालबीच डेडिकेटेड सडक सम्बन्ध स्थापित गर्नेछ।
गोरखपुर-सुनौली नेसनल हाइवे (एनएच-२४) भारतको बहुप्रतीक्षित परियोजनामध्येको एक हो। जसले भारतीय बाटो हुँदै नेपाल भित्रिनेलाई सहज, सुरक्षित र छोटो विकल्प दिनेछ। ट्राफिक जाम, साँघुरा सडक र घण्टौंको यात्रालाई यो सडक निर्माणले सहज बनाउनेछ।
भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई)का अनुसार चार लेनको राजमार्गको काम ८९ प्रतिशत सकिएको छ। यो परियोजना सन् २०२६ को अन्तिमसम्म निर्माण सक्ने भारतको योजना छ। राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएपछि गोरखपुर, कुशीनगर र नेपालको लुम्बिनी यात्रा अझ बढी सहज र छिटो हुने एनएचएआईको भनाइ छ।
भारत सरकारले यस परियोजनामार्फत गोरखपुरलाई बौद्ध सर्किटसँग जोड्ने हेतुले कुशीनगर र लुम्बिनीसम्म विस्तार गर्न चाहेको छ। जसले दुवै देशको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

‘यो सडक परियोजनाले नेपाल-भारत सीमापार व्यापार तथा ढुवानी (लजिस्टिक्स) सुदृढ बनाउने, बजारसँगको पहुँच सुधारमार्फत किसानलाई सहयोग पुर्याउने तथा पर्यटन र क्षेत्रीय आर्थिक विकासलाई गति दिने अपेक्षा छ। आधुनिक सडक पूर्वाधार र सुरक्षा प्रणाली तथा वातावरणमैत्री विशेषताले सुसज्जित यस परियोजनाले सबैलाई जोड्नेछ’, एनएचएआईको भनाइ छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय सडक परिवहन एवम् राजमार्गमन्त्री नितिन गडकरीको पहलमा नेपालसँग गुणस्तरीय सडक सम्पर्क स्थापित गर्न यो परियोजना अघि बढाइएको भारतीय अधिकारीहरुको भनाइ छ।
सुनौली भारतको उत्तर प्रदेश राज्यअन्तर्गत रहेको महाराजगन्ज जिल्ला नेपाल भित्रिने भारततर्फको सबैभन्दा भीडभाड हुने नाकामा पर्छ।
सुनौलीसँग नेपालको भैरहवा नाका जोडिएको छ। भैरहवा भन्सार कार्यालयमार्फत भारतीय बाटो हुँदै नेपालमा मालसामान भित्रिने गरेको छ। जहाँबाट हरेक दिन हजारौं संख्यामा तीर्थालु, पर्यटक, व्यवसायीदेखि कार्गो सवारीसाधन आउजाउ गर्छन्।
भारतले निर्माण गरिरहेको नयाँ गोरखपुर-सुनौली राजमार्ग ७९.५ किलोमिटर लामो छ। हाल दुई लेनको साँघुरो बाटोबाट भारतीय तथा नेपालीले कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। नयाँ राजमार्ग निर्माणले ट्राफिक आउजाउमा मात्रै सहजता थप्नेछैन, यसले दुई छिमेकीको आर्थिक तथा व्यापारिक गतिविधिलाई थप बल पुग्ने अपेक्षा छ।

दिल्ली-एनसीआरबाट नेपालको दूरी छोटिने
नयाँ राजमार्गले नेपाल आउन चाहने दिल्ली-एनसीआर, नोइडा, गाजियाबाद, लखनउ र बिहारका यात्रुलाई सबैभन्दा बढी फाइदा पुग्नेछ।
सुनौली नाका आफैँमा एकदमै व्यस्त सीमा नाका हो। नयाँ पूर्वाधारले दुई लेनको साँघुरो सडकलाई चार लेनमा विस्तार गर्नेछ।
भारत सरकारले यो सडकलाई अन्तर्राष्ट्रिय राजमार्गका रूपमा अर्थ्याउँदै नेपाल-भारत जोड्ने मात्रै नभएर यसले दुई देशको आर्थिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने जनाएको छ। यो पूर्वाधारले दुई देशको धार्मिक पर्यटनमा टेवा पुर्याउनुका साथै अन्तर्देशीय कनेक्टिभिटीलाई उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
एनएचएआई डेपुटी महाप्रबन्धक ललित प्रताप पालले अन्तर्देशीय सडक पूर्वाधार भविष्यलाई ख्याल गर्दै निर्माण गरिएको जानकारी दिए।
‘सुनौलीदेखि गोरखपुर ७९.५४ किलोमिटर लम्बाइको छ। इन्डो नेपालको कनेक्टिभिटीका लागि पहिला ३ घण्टाको समय लाने गर्थ्यो। यो परियोजना बनेपछि अब धेरै नै कम समयमा भारतबाट नेपाल पुग्न सकिन्छ’, उनले भने।
पालका अनुसार अन्तर्राष्ट्रिय सीमा भएकाले ढुवानीका ट्रकको आवतजावत निकै बढी हुन्छ। जसले लामो जाम हुने गरेको छ। अहिलेको दुई लेनको सडक ४ लेनमा विस्तार हुँदा अन्डरपास र फ्लाईओभर ६ लेनका छन्।

‘भविष्यमा थप सडक विस्तार गर्नपरे पनि यी महत्त्वपूर्ण पूर्वाधार निर्माण गर्नुपर्नेछैन’, पालले भने।
अहिले काठमाडौंबाट नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालनमा छ।
दिल्लीबाट काठमाडौं चल्ने उक्त बसलाई गन्तव्यमा पुग्न अहिले ३० घण्टाभन्दा समय लाग्छ। दिल्लीबाट छुटेको बसलाई सुनौली सीमा पुग्न १२ देखि १४ घण्टा वा अझै बढी समय लाग्ने गर्छ। नयाँ राजमार्गले अब यात्रा समयलाई उल्लेख्यरूपमा घटाइदिने भारतीय सञ्चारमाध्यमहरुले पनि उल्लेख गरेका छन्। सुनौलीबाट काठमाडौंसम्म आइपुग्न अहिले १० घण्टासम्म पनि लाग्ने गर्छ।
त्यसैगरी भारततर्फबाट सुनौली नाका हुँदै भैरहवा र बुटवल आउन कुनै समस्या छैन। यो खण्डमा फराकिलो सडक छ। भारतीयहरु खासगरी काठमाडौं, पोखरा, मुक्तिनाथ (मुस्ताङ)लगायतका स्थानमा घुम्न आउने गरेका छन्।
उनीहरुलाई बुटवलबाट सहजै पोखरा पुग्ने गरी नेपाल सरकारले सिद्धार्थ राजमार्गलाई पनि विस्तार गर्ने तयारी गरिरहेको छ। यो बाटो अहिले निकै साँघुरो भएका कारण सवारीसाधन चलाउन अप्ठ्यारो मानिन्छ। सोही कारण अहिले पोखरा आउने भारतीयहरुलाई नारायणगढ–मुग्लिङको बाटो रोज्नुपर्ने बाध्यता छ।
मुग्लिङबाट पोखरा जाने बाटो भने ४ लेनमा लगभग विस्तार भइसकेको छ। बुटवल–नारायणगढअन्तर्गत दाउन्ने खण्डमा पनि विस्तार सम्पन्न हुने चरणमा पुगिसकेको छ। भारतले उक्त परियोजना पूरा गर्दा र नेपालले सोहीअनुसार विस्तार सम्पन्न गर्दा नेपाल–भारत सडक यातायात अझै सहज बन्नेछ।

अत्याधुनिक पूर्वाधार र हाई-टेक सुरक्षा फिचर
भारतले निर्माण गरेको गोरखपुर-सुनौली राजमार्ग सामान्य सडक मात्रै होइन। यो पूर्वाधार अत्याधुनिक इन्जिनियरिङ र आधुनिक सुविधाले भरिपूर्ण छ।
यस करिडोरलाई सरल ढंगले सञ्चालन गर्न रेल्वे ओभरब्रिज, फ्लाईओभर, २४ अन्डरपास, १०५ कल्भर्ट, साना पुल र ६८ किलोमिटर सर्भिस रोडलगायतका पूर्वाधार बन्दै छन्। जसका कारण सवारीसाधनहरूको आवागमन निर्बाध सञ्चालन हुनेछ।
एनएचएआईका अनुसार राजमार्ग सुरक्षाको हिसाबले पनि सुसज्जित छ। यात्रु तथा सवारीसाधनको सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन आधुनिक उपकरण र प्रविधि प्रयोग गरिएको छ।
गोरखपुर-सुनौली राजमार्गका मुख्य स्थानहरूमा अत्याधुनिक सीसीटिभी क्यामरा, इमर्जेन्सी कल बक्स र विद्युतीय डिस्प्ले साइनबोर्ड जडान गरिएको छ। अत्याधुनिक ट्राफिक व्यवस्थापन प्रणाली (एटीएम)का साथै रियल टाइम ट्राफिक मोनिटरिङ हुनेछ। क्र्याक ब्यारियर, सडक चिन्ह, सडक मार्किङ, जङ्सन लाइटिङ र एम्बुलेन्स सेवा यो सडकमा उपलब्ध हुनेछ।
भारत सरकारले हाललाई चार लेनमा विस्तार गरिरहेको यो सडक पूर्वाधारलाई भविष्यमा थप चौडा बनाउन मिल्ने गरि डिजाइन गरेको छ।
यो राजमार्गमा थप चाप परेमा ६ लेनमा विस्तार गर्न सकिने गरी डिजाइन तयार गरिएको छ।
Shares

प्रतिक्रिया