चुक्ता पुँजीको २५ प्रतिशत सेयर धारण गरेका लघुवित्त कम्पनीका लगानीकर्तालाई लाभांश लिन राष्ट्र बैंकले रोक लगाएको छ।
केन्द्रीय बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०८२ जारी गर्दै लाभांशमा कडाइ गरेको हो।
यसअघि कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था थियो। त्यस्ता लगानीकर्ताले सो कम्पनीबाट लाभांश पाउँदैनथे। अब राष्ट्र बैंकले लघुवित्त कम्पनीमा पनि सोही व्यवस्था कार्यान्वयन गरेको हो।
जसमा कुनै एक लघुवित्तमा चुक्ता पुँजीको २५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थामा १० प्रतिशतभन्दा बढीको सेयर धारण गरेका सेयरधनीहरूले लाभांश नपाउने भएका हुन्।
‘(घ) वर्गको संस्थाको हकमा चुक्ता पुँजीको बढीमा २५ प्रतिशत र अन्य संस्थाहरुमा १० प्रतिशत लगानी गर्न सकिने व्यवस्थाभन्दा बढी हुने गरी संस्थापक सेयरधारण गर्ने संस्थापक सेयरधनीहरूलाई तोकिएको सीमा कायम नगरेसम्म प्रस्तावित नगद लाभांश तथा बोनस सेयर वितरण रोक्का राख्न लगाउने’ कार्यविधिमा उल्लेख गरिएको छ।
तर राष्ट्र बैंकले नेपाल सरकार,नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनीमा संस्थापक भई लगानी गर्दा भने लागू नहुने व्यवस्था गरिएको छ। उक्त संस्थाहरुले भने सीमाभन्दा धेरै लगानी गरे पनि लाभांशमा रोक लगाइएको छैन।
योबाहेक वित्तीय मध्यस्थता कारोबार गर्ने गैरसरकारी संस्थाबाट रुपान्तरण भएका संस्थाको हकमा लघुवित्त वित्तीय संस्थाले वित्तीय कारोबार सुरु गरेको ५ वर्ष पूरा भई तोकिएको सीमा कायम नगरेको खण्डमा पनि त्यस्ता संस्थाले पाउने नगद लाभांश तथा बोनस सेयर वितरण रोक्का राख्नुपर्नेछ।
Shares

प्रतिक्रिया