सेयरबजारमा आज कारोबार रकम उकालिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ७ अर्ब ६८ करोडको कारोबार भएको हो।
१ करोड ४९ लाख कित्ता बिक्रीपछि यो परिमाणको कारोबार भएको नेप्सेले जनाएको छ।
आज हिमालयन रि इन्स्योरेन्सको ६५ करोड, नेपाल पुनर्बीमा ५० करोड, ग्रिन भेन्चर्स लिमिटेड ४६ करोड, हिमालयन डिस्टिलरी ४३ करोड र नेपाल रिपब्लिक मिडियाको २१ करोडको कारोबारले कुल खरिदबिक्रीको आकारलाई बढाएको छ।
बुधबार ५३.०१ अंकले नेप्से बढेर २८ सयको विन्दु पार गरेको छ। नेप्से २८१९.१० विन्दुमा पुगेको दिन २३२ वटा सेयरको मूल्य बढेको छ भने १९ वटाको मात्र घटेको नेप्सेले जनाएको छ।
आज विकास हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले प्रतिकित्ता ४७ रुपैयाँ आम्दानी गरेका छन्। त्यसैगरी समता घरेलु लघुवित्तको ९.३६ प्रतिशत, ग्रिन भेन्चर्सको ८.०८ प्रतिशत, क्रेस्ट माइक्रो लाइफको ७.६० प्रतिशत र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ७.२८ प्रतिशतले सेयर बढेको छ।
तर कुमारी बैंकको डिबेन्चरमा लगानी गरेकाहरुले भने आज सर्वाधिक ५.७९ प्रतिशत गुमाएको नेप्सेले उल्लेख गरेको छ। अन्य कम्पनीहरुको सामान्य दरले सेयर मूल्य घटेको छ।
Shares

प्रतिक्रिया