उन्नाइस वर्षअगाडि मोटरसाइकल किन्न हङकङको चुनवानस्थित यामाहा बाइक सो रुममा छिर्दा नेपाली भएकै नाताले राजु राईलाई बिक्रेताले पत्याएनन्। तर उनले हीनताबोधले शिर निहुर्याएनन्, बरु नेपाली हुनुको स्वाभिमानले घच्घच्याएपछि वालेटबाट ८० हजार डलरको क्रेडिट कार्ड निकालेर घोट्न लगाए, अनि दौडाए चिल्ला सडकमा महँगो यामाहा।
त्यसो त किशोर छँदै नेपालको पूर्वी क्षेत्रमा रोयल इन्फिल्ड बुलेट बाइक चलाउने पहिलो व्यक्ति आफू नै भएको निर्धक्क बताउँछन्, राई। समयले काचुली फेरेसँगै राईको इमेज पनि फेरिएको छ।
अहिले हङकङमा मकालु आरएस लिमिटेड निर्माण कम्पनी स्थापना गरेर सयौं जनालाई उनले रोजगारी दिएका छन्। हालसालै हाइवे डिपार्टमेन्टबाट झन्डै १० करोड हङकङ डलरको टेन्डर पाएका राई करिब २ वर्षअघि टेस्ला कारको सो रुम छिर्दा भने ह्युमिलेट हुन परेन।
कार्यालय पोसाकमा १७ वर्षे पुरानो सवारी अनुमतिपत्र देखाएपछि टेस्लाका सो रुमका कर्मचारीले ससम्मान टेस्ट ड्राइभ गर्न दिए। लेक्सस, औडी, बिएमडब्लु, मर्सिडिजलगायत दर्जन कार हाँकिसकेका राईलाई टेस्ट ड्राइभमै टेस्लाले मोहनी लगायो। अनि ९ लाख हङकङ डलर तिरेर सो रुमबाट निकाले नयाँ टेस्ला।

राजु राई भन्छन्, ‘सम्भवतः सो रुमबाट किनेर टेस्ला कार चलाउने पहिलो नेपाली म नै हुन सक्छु हङकङमा।’
हङकङको चौंडा र चिल्ला सडकमा टेस्ला हाँक्दा उनका धेरै किस्सा छन्। २.२४ सेकेन्डभित्र ९७ किलोमिटर पिकअप लिनसक्ने टेस्ला फेरारी र ल्याबोर्घिनी भन्दा छिटो पिकअप लिनसक्छ। टेस्ला चिल्ला सडकमा चलाउँदा र सार्वजनिक पार्किङमा राख्दा चिनियाँ र गोराहरू समेत लोभिएर ‘वाउ टेस्ला’ भन्दै फोटो खिचेको उनको सम्झनामा ताजै छ।
कार हाँक्ने तपाईंको सौख हो कि बाध्यता?
नेपालखबरको प्रश्नमा उनी भन्छन्, ‘मेरो सन्दर्भमा भन्ने हो भने सौख र बाध्यता दुवै हो, तर आमरूपमा भन्ने हो भने हङकङजस्तो विश्वकै सर्वसुलभ यातायात भएको ठाउँमा निजी कारको कुनै जरुरत छैन।’
राई आफ्नो पेसाले गर्दा आफुलाई कार जरुरी रहेको ठान्छन्।
‘कामको सिलसिलामा विभिन्न विकट स्थानमा जानुपर्ने हुन्छ, जहााँ सार्वजनिक सवारीसाधनहरू पुग्न सक्दैनन्’, राई भन्छन्, ‘फेरि ठूला कम्पनी सञ्चालकहरूसँग विभिन्न टेन्डर मिटिङहरूमा उठबस गर्नुपर्ने हुन्छ, जसमा आकर्षक व्यक्तित्व झल्काएर प्रभाव पार्न पनि त जरुरी छ।’

उसो त हङकङमा टेस्ला कार चलाउनु खुसी र प्रतिष्ठाको कुरा पनि हुने ठान्छन् राई।
‘हङकङका हामी नेपाली जुनसुकै काम त गर्छौं नै, कम्पनी सञ्चालन गरेर टेस्ला हाँक्ने हैसियतमा पनि राख्छौं’, राई भन्छन्।
‘मान्छेहरू राजुले घर किन्न छाडेर किन कार किनेर पैसा फालेको भन्छन्, मलाई चाहिँ घरभन्दा कार किनेर कुदाउन आनन्द लाग्छ’, कारका सौखिन राई अगाडि भन्छन्, ‘म किरात राईको छोरो हुँ तर जाँडरक्सी आजसम्म पिएको छैन, धूमपान गर्दिनँ, जुवातास खेल्दिनँ।’
टेस्ला नै रोज्नुको कारण के हो त?
‘टेस्लाको आविष्कारले कारको दुनियाँमा क्रान्ति नै ल्याएको छ। टेस्ला मंगलग्रहसम्म पुगेर आएको कार मानिन्छ’, राईले भने, ‘वातावरणमैत्री ब्याट्रीबाट चल्ने टेस्लाको यो कार प्रदूषणमुक्त छ। न धुवाँ, धुलो न कान फुटाउने आवाज।’

नयाँ टेस्लाको अनुभव सुनाउँदै राईले एक्सिलेटर दाबेपछि बिनाआवाज केही सेकेन्डभित्र २४९ किलोमिटर प्रतिघन्टाका दरले रफ्तार लिने बताए।
‘त्यतिबेला कारमा हैन, वाइडबडीको एयरबस वा बोइङमा सवार भएको अनुभव हुन्छ’, उनी भन्छन्, ‘एकपटक यो कार चलाएपछि अरु कार छुनै मन लाग्दैन।’
स्टेरिङ छेवैमा रहेको डिस्प्लेमा इन्टरनेटलगायत सारा संसार छ, हाइड्रोलिक डिजिटल सिस्टम छ। ‘अटो पाइलट’ प्रविधिले बाटो नचिन्ने सिकारु चालकले समेत आरामसाथ चलाउन सक्छन् टेस्ला।
‘अर्को फाइदा– इन्जिन नभएकाले अगाडि पछाडिको दुबै भागमा मनग्गे सामान राख्न सकिन्छ’, राई भन्दै जान्छन्, ‘एक घन्टाभित्रै फुल चार्ज भएपछि ३५० किलोमिटर ढुक्कैले कुदाउन सकिन्छ।’

तर फुल चार्ज भएपछि पनि चार्जरबाट हटाइएन भने प्रतिमिनेट ३ अमेरिकी डलर जरिवाना लाग्ने राई बताउँछन्। अन्य कारका तुलनामा इन्जिन नभएकाले कुनै खराबी नआउने तथा २० हजार किलोमिटर दौडिएपछि टेस्ला कम्पनीले निःशुल्क सर्भिर्सिङ गरिदिने उनले बताए।
हङकङमा भएपनि राईको टेस्लामा नेपालका सेलिब्रेटी कलाकार, उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिज्ञहरू समेत सवार भइसकेका छन्।
नेपालमा यो कार कतिले चढ्छन् यकिन छैन।
राई भन्छन्, ‘उच्च प्रविधि र वातावरणमैत्री भएकाले नेपालमा यो कार उपयुक्त छ, तर चर्को मूल्यले गर्दा जो कोहीले आँट गर्न सक्दैन।’

प्रदूषण कम गर्न र पेट्रोलियम पदार्थका लागि विदेशिने मुद्रा रोक्न विद्युतीय सवारीसाधन नेपालको आवश्यकता भएको ठान्छने राई।
‘नेपाल सरकारसँग सहकार्य गरी सर्वसुलभ लागतका विद्युतीय सवारीसाधन भित्र्याउन असम्भव छैन’, राई भन्छन्।
राईले लेक्सस, औडी, बिएमडब्लु, मर्सिडिजलगायत अन्य एक दर्जनभन्दा बढी कार प्रयोग गरिसकेका छन्।
‘चाँडै नै जिप स्टाइलको नयाँ टेस्ला चढ्ने योजनामा छु’, राईले भने।
Shares

प्रतिक्रिया