साउन महिनामा लगानीकर्ताले अडलटमार्फत धितोपत्रको कारोबार ६४ प्रतिशतले बढाएका छन्।
साउनबाटै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १० कित्ताभन्दा तलको सेयर कारोबार हुने अडलटलाई नेप्सेको वेबसाइटको मार्केट डेप्थमै देखिने व्यवस्था गरेको थियो।
सो व्यवस्था कार्यान्वयनमा आएसँगै अडलटको कारोबारमा वृद्धि भएको हो। नेप्सेका अनुसार साउन महिनामा लगानीकर्ताले कुल ७१ करोड ४४ लाख रुपैयाँबराबरको २१ लाख १ हजार कित्ता सेयर किनबेच गरेका हुन्।
गत जेठ महिनामा लगानीकर्ताले ४३ करोड ५४ लाख रुपैयाँबराबरको ११ लाख ४४ हजार कित्ता किनबेच गरेका थिए। जेठको तुलनामा साउनमा भने यस्तो कारोबार बढेको हो। त्यसो त जेठमा पनि लगानीकर्ताले ३३ करोड १९ लाखबराबरको १६ लाख ७८ हजार कित्ता अडलटमार्फत सेयर खरिदबिक्री गरेका थिए।
मासिक रूपमा भने अडलटको कारोबार बढे पनि गत वर्षको साउन महिनासँग तुलना गर्दा भने यो वर्ष यस्तो कारोबार घटेको देखिन्छ। गत वर्षको साउन महिनामा १ अर्ब ५४ करोड रुपैयाँबराबरको २२ लाख १४ हजार कित्ताको कारोबार भएकोमा यो वर्ष ३८ प्रतिशतले कम कारोबार भएको हो।
नेप्सेले साउन १ गतेबाट १० कित्ताभन्दा कम सेयर किनबेच गर्नका लागि लगानीकर्तालाई सहजीकरण गर्दै नेप्सेको वेबसाइटको मार्केट डेप्थमा खरिद तथा बिक्री आदेश देखिने व्यवस्था गरेको थियो।
Shares

प्रतिक्रिया