ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ। सो क्रममा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्तामा आगामी सेप्टेम्बर १६-१८ मा हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेसन कन्फरेन्स (जीआईसीसी) २०२५ को तयारीसम्बन्धी विषयमा विशेष छलफल भएको थियो। राजदूत योङले हालसम्म ३५ देशले उक्त कार्यक्रममा सहभागिता सुनिश्चित गरिसकेको जानकारी दिँदै नेपालका ऊर्जा परियोजनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्न यसलाई महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिने बताएका थिए।
सो अवसरमा अपर त्रिशूली–१ जलविद्युत् आयोजना र प्रसारणलाइन आयोजनासहित नेपालमा कोरियाली सहयोगमा अघि बढिरहेका विभिन्न परियोजनाका बारेमा समेत विस्तृत कुराकानी भएको बताइएको छ। मन्त्री खड्काले नेपालमा भइरहेको कोरियाली सहयोग र लगानीप्रति आभार व्यक्त गर्दै प्रसारण लाइन र अन्य ऊर्जा पूर्वाधार परियोजनामा भइरहेको सहकार्यलाई सकारात्मक मोडमा अघि बढाइरहने प्रतिबद्धता जनाए।
उनले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा अझ थप कोरियाली लगानी आकर्षित हुने विश्वास व्यक्त गरे।
दुवै पक्षले जीआईसीसी २०२५मार्फत नेपालको जलविद्युत् क्षेत्रका सम्भावना तथा लगानी अवसरलाई उजागर गर्न सकिने र यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
Shares

प्रतिक्रिया