नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले दैलेखमा भेटिएको मिथेन ग्यासको स्वामित्व लिन नेपाल आयल निगमसँग आग्रह गरेको छ।
कर्मचारी युनियनले ‘दैलेखमा भेटिएको मिथेन ग्यासको व्यवसायिक उत्पादनमा नेपाल आयल निगमको स्वामित्व सुनिश्चित गर्दै राष्ट्र हितमा उपयोग गर्न पहल गर्ने सम्बन्धमा’ भन्दै निगमलाई लामो पत्र बुझाएको छ।
पत्रमा ‘पेट्रोलियम अन्वेषण भई पुष्टि भएको दैलेखको प्राकृतिक मिथेन ग्यासको व्यावसायिक प्रयोगले एलपी ग्यास आयात प्रतिस्थापन गरि राष्ट्रले लाभ प्राप्त गर्न सक्ने अवस्था छ’ भनिएको छ।
चीन सरकारका तर्फबाट चाईना जिओलोजीकल सर्वेले दैलेखको भैरवी गाँउपालिका स्थित जलजलेमा पेट्रोलियम अन्वेषण कार्य सम्पन्न गरि प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाई सकेको छ।
उक्त प्रारम्भिक प्रतिवेदनमा दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको पुष्टि भएको र त्यस क्षेत्रमा कुल ४३० अर्ब घनमिटर ग्यास भण्डारण हुने प्रक्षेपण गरिएको छ। यस परिमाणले नेपालको ग्यास आवश्यकतालाई करिब ५० वर्षसम्म पुरा गर्न सक्ने र अबको एक वर्षभित्रमा परिक्षण उत्पादन गर्न सक्ने सम्भावना देखिएको उक्त प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएको चर्चा छ।
नेपालमा खाना पकाउन तथा केहि औद्योगिक प्रयोजनका लागि आवश्यक एलपी ग्यास पूर्ण रुपमा निगम मार्फत भारतबाट आयात हुँदै आएको छ। यसका लागि वार्षिक अब रकम नेपालबाट बाहिरने गरेको र यसले नेपालको वैदेशिक व्यापार घाटामा समेत उलेख्य अंश ओगटेको देखिन्छ। साथै, लागत मूल्य भन्दा नेपालमा सस्तो मूल्यमा एलपी ग्यास बिक्री गर्नुपर्नाका कारण निगमले वार्षिक रुपमा अर्बौं रकम घाटा ब्यहोर्नु परिरहेको छ।
यस्तै, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि विश्वभर नै जिवाश्म इन्धनको प्रयोगमा नियन्त्रण गर्ने देखि बन्द गर्ने सम्मका लक्ष्य तय गर्दै विभिन्न प्रयासहरु भई रहेको कर्मचारी युनियनले स्मरण गराएको छ।
नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका महासचिव सन्दिप बरालले प्रेशित गरेको पत्रमा‘ केहि वर्ष यतादेखि नेपालमा पनि पेट्रोलियम पदार्थको बिक्रिमा उल्लेखनीय रुपमा सङ्कुचन भईरहेको सन्दर्भमा निगमले बद्लिदो विश्व ऊर्जा परिवेश अनुरुपको नीति अबलम्बन नगरेमा आगामी केहि वर्ष पश्चात नै निगमको सेवा निरन्तरतामा समेत चुनौती देखापर्न सक्ने’ बताइएको छ।


Shares

प्रतिक्रिया