कारोबार


कुलमानले अमेरिकाबाट भने– व्यवस्थापन गर्न नसक्दा नेपालमा विद्युत् आपूर्तिमा समस्या देखियो

कुलमानले अमेरिकाबाट भने– व्यवस्थापन गर्न नसक्दा नेपालमा विद्युत् आपूर्तिमा समस्या देखियो

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०८२ सोमबार १२:२२, अस्टिन (अमेरिका)

नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको अहिलको नेतृत्वले व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको बताएका छन्।

‘उज्यालो नेपाल अभियानका’साथ अमेरिकाको भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा विद्युत् उत्पादन पर्याप्त रहेता पनि प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभर विद्युत् आपूर्तिमा समस्या रहेको टिप्पणी गरेका हुन्। 

घिसिङले भने, ‘नयाँ व्यवस्थापन आएपछि बिगतमा सुरु गरिएको सही व्यक्तिलाई सही ठाउँमा लत्याएर राम्रो काम गरिरहेकालाई कुलमानका मान्छे भन्दै जिम्मेवारीबाट हटाउन सुरु गरियो, देशभरका विद्युत प्रणाली सञ्चान गर्ने भार प्रेषणजस्तो संवेदनशील ठाउँको प्रमुखलाई हटाइयो अहिले चल्दै नचल्ने अवस्था आएपछि पुनः उही व्यक्तिलाई लैजानु पर्ने अवस्था आयो, त्यसैले नेपालमा अहिले देखिएको विद्युत आपूर्तिको समस्या स्रोत नभएर नभई व्यवस्थापन गर्न नसकेर हो, व्यवस्थापनको पूर्ण असफलता हो।’

एसियाली विकास बैंकको सहायतामा निर्माण गर्न लागिएको ६७० मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको लगानी जुटाउनु पूर्वका कामहरु अन्तिम चरणमा पुगिरहेको अवस्थामा अहोरात्र खटिरहेका  कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई हटाएर प्राधिकरण व्यवस्थापनले आयोजनालाई अन्यौलमा पार्ने काम गरेको घिसिङको टिप्पणी थियो । 

उनले घाटमा रहेको संस्थालाई नाफामा लगेको, करिब करिब सबैको घरमा बिजुली पुर्याएको, बिगतमा लोडिसेडिङको समयमा डिडिकेटेट तथा ट्रंक लाइनबाट विद्युत् लिएका औद्योगिक ग्राहकको प्रिमियम महसुल बक्यौता उठाउन प्रयास गरिरहेको अवस्थामा सरकारले अपमानपूर्वक आफूलाई हटाएको उल्लेख गरे। 

लोडसेडिङ अन्त्य कुनै जादू नभएर प्राधिकरणको कार्यकारी निर्देशकको दायित्व इमानदारीपूर्वक निर्वाह गर्दा मुलुकबाट लोडसेडिङ अन्त्य भएको उल्लेख गर्दै घिसिङले यसमा तत्कालीन प्रधानमन्त्री, ऊर्जा मन्त्री, प्राधिकरणका कर्मचारी आम उपभोक्ता, विदेशमा रहेका नेपालीकोे साथ र हौसलाले गर्दा थप काम गर्न प्रेरित गरेको बताए। 

‘बिजुलीको उज्यालो पाएका छौं, तर अझै धेरै ठाउँमा अँध्यारो छ, वत्तिको उज्यालोले मात्र हुँदैन भनेर देशमा व्याप्त अँध्यारो हटाउन केही गरौं भन्ने सोच बनाएर उज्यालो नेपाल अभियान चलाएका हौं’, उनले भने। 

देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल अभियान’मा जोडिन उनले आह्वान गरे। उनले ‘उज्यालो नेपाल’ वत्तिको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान भएको उल्लेख गरे। 

विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न घिसिङले यसअघि मध्यपूर्वी देशहरु बहराइन, ओमान, युएई र कतारको भ्रमण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad