कारोबार


अब विद्युतीय गाडीको कारखाना नेपालमै खोल्नुपर्छ: यातायात सचिव शर्मा

अब विद्युतीय गाडीको कारखाना नेपालमै खोल्नुपर्छ: यातायात सचिव शर्मा

नेपालखबर
असार ३२, २०८२ बुधबार १३:४३, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब विद्युतीय गाडीहरू नेपालमै बनाउनुपर्ने बताएका छन्। 

महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपालमा विद्युतीय गाडी (ईभी) को प्रयोग बढेर गएको बताउँदै नेपालमै कारखाना खोल्दा गाडीको मूल्य कम पर्ने र व्यवस्थापनमा समेत सघाउ पुग्ने बताएका हुन्। 

उनकाअनुसार अब साना गाडीहरू प्रतिस्थापन गरेर शहरमा वातावरणमैत्री ठूला सिटी बसहरू चलाउनुपर्छ। सरकारले सार्वजनिक यातायातमा धेरै लगानी गर्न नसकेको बताउँदै निजी क्षेत्रले गरेको लगानी प्रभावकारी भइरहेको उनको भनाइ छ। 

'विद्युतीय यातायात नेपालको सन्दर्भमा महत्वपूर्ण छ। इन्धन आयातमा ठूलो रकम बाहिरिरहेको अवस्थामा यसलाई विस्तार गरियो भने बिजुलीको सदुपयोगसँगै अर्बौँ रकम बाहिर जानबाट जोगिन्छ,' उनले भने, 'सार्वजनिक यातायातमा महानगरले जुन सुरु गरेको छ, यो सकारात्मक छ। काठमाडौं सानो छ, पाकिङ गर्न समस्या छ। साना गाडीहरू हटाउनुपर्छ। नेपालमा इभी फ्याक्टी बनाउन पायौँ भने स्पेयर्स पार्ट्स यहीँ बन्ने र गाडीको मूल्य समेत सस्तो पर्छ। यसमा लगानी गर्न आह्वान गर्छु।’

बिदाको दिन आफू महानगर यातायात चढ्ने गरेको बताउँदै उनले यातायात क्षेत्रलाई भरपर्दो, सुरक्षित, वातावरण मैत्री बनाउनुपर्ने बताए। कार्यक्रममा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात सुधारका लागि सरकारले बनाएका कार्यदलहरूका प्रतिवेदन त्यतिकै दराजमा थन्काइएकोप्रति असन्तुष्टी जनाए। उनले त्यस्ता प्रतिवेदनहरू कार्यान्वयनमा लगिए अहिले सार्वजनिक यातायातमा देखिएका धेरैजसो समस्या हल हुने दाबी  गरे। 

‘सार्वजनिक यातायात सुधार सुझाव प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ। रुट परिवर्तनसँगै नीतिहरू पनि परिवर्तन गरिएन भने अस्वस्थ प्रतिस्पर्धा बढ्छ,' उनले भने, 'त्यस्तो अस्वस्थ्य प्रतिस्पर्धा हटाउनुपर्छ होइन भने व्यवसायीहरूको लगानी डुब्छ। यातायात क्षेत्रको सुधारका लागि बनेका प्रतिवेदनहरू अहिले दराजमा थन्काउने काम भएको छ। यो ठिक होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad