सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको बताएका छन्। बुधबार सिंहदरबारमा निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडिओ प्रकरणबारे सञ्चारकर्मीको प्रश्नमा जवाफ दिने क्रममा उनले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसकेको र नयाँ मन्त्री पनि आइसकेको बताएका हुन्।
अब सरकारले अनुसन्धानको प्रक्रियाअघि बढाउने र दोषी देखिए कारबाही हुने उनको भनाइ छ। तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने गुरुङको दाबी छ।
‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने काम भइसकेको छ। हामी सबै भ्रष्टाचार मुक्त नेपाल चाहन्छौँ। त्यसको लागि भ्रष्टाचार अन्त्य होस् भन्ने चाहन्छौँ,' उनले भने, 'भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव वा कोही पदाधिकारी जो भएपनि त्यसमाथि कारबाही हुनुपर्छ भन्ने हामी सबैको माग हो। सामान्य प्रशासनमन्त्रीले प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको छ। अर्को मन्त्री आइसक्नुभएको छ। यसमा छानबिन होला कि नहोला भन्ने प्रश्न छ। अघि बढ्दै जाला। तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ। त्यस्तो छ भने सरकारले आँखा चिम्लिनुपर्छ भन्नेकुरा रहँदैन।’
मन्त्री गुरुङले गल्ती गर्ने जो कोही भए पनि कारबाही हुने बताए।
Shares

प्रतिक्रिया