कारोबार


काठमाडौँ गोर्खाज र वर्ल्डलिंकबीच साझेदारी

काठमाडौँ गोर्खाज र वर्ल्डलिंकबीच साझेदारी

नेपालखबर
असार ३१, २०८२ मंगलबार २०:५३, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौँ गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) बन्ने घोषणा गरिएको छ।

सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहिया बीच औपचारिक रूपमा हस्ताक्षर गरिएको हो।

सम्झौता कार्यक्रममा बोल्दै वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले भने, ‘हाल नेपालमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो र यसले सबै उमेर समूहका मानिसलाई जोडेको छ। हामी वर्ल्डलिंकले लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटको समर्थन गर्दै आएका छौँ। अब काठमाडौं  गोर्खाज मार्फत हामीले त्यो साथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएका छौँ। वित्तीय पक्षभन्दा पनि महत्वपूर्ण कुरा भनेको हामीजस्ता कम्पनीहरू नेपाल प्रिमियर लिगजस्ता लिगहरूसँग जोडिनु हो। खेलको दीर्घकालीन प्रगतिको लागि यस्ता सहकार्यहरू आवश्यक छन्।’

काठमाडौँ गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले भने, ‘कुनै पनि लिगको सफलता ठूला कम्पनीहरूको सहभागितासँग जोडिएको हुन्छ। हामीलाई खुशी लाग्छ कि वर्ल्डलिंक जस्तो प्रतिष्ठित ब्रान्ड अब हाम्रो टोलीमार्फत नेपाल प्रिमियर लिगसँग जोडिएको छ। यस साझेदारीसँगै हामीले प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेका छौं र तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।’

आगामी सिजनका लागि काठमाडौँ गोरखाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ। साथै, टोलीले करण केसी (मार्की खेलाडी) सहित भिम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ।

काठमाडौँ गोरखाज र वर्ल्डलिंक कम्युनिकेसन्सबीचको यो साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न थप मद्दत पुर्‍याउने विश्वास गरिएको छ, साथै निजी क्षेत्रको सहभागिताबाट राष्ट्रिय खेलको दिगो विकासमा टेवा पुर्‍याउनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad