कारोबार


असारमै खडेरी, रोपाइँ नहुँदा किसान चिन्तित

असारमै खडेरी, रोपाइँ नहुँदा किसान चिन्तित

फाइल तस्बिर


नेपालखबर
असार २७, २०८२ शुक्रबार ६:६, झापा

झापाको मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर चिन्तित छन्। विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उनको दुई बिघा खेतका सुक्खा गरामा कमिला कुदिरहेका छन्।

“गरा भरिने गरी आकाशबाट पानी पर्छ र धान रोपौँला भनेर पर्खेको धेरै भइसक्यो”, उनी भन्छन्, “ब्याडमा बीउ छिप्पिइसक्यो । पानी परेको छैन । यो पाला धान रोप्न पाइन्छ जस्तो छैन।”

अर्जुनधारा नगरपालिका–८ का किसान श्याम अधिकारीको पीडा पनि उस्तै छ । विगत पाँच वर्षदेखि एक बिघा खेत वार्षिक ठेक्कामा लिएर धान खेती गर्दै आएका उनी असारमा खडेरी पर्दा किसानलाई ठुलो क्षति भएको बताउँछन्।

समयमा रोपाइँ गर्न नसक्दा जग्गाधनीलाई वार्षिक रूपमा ठेक्काबापत तिर्नुपर्ने रु ५० हजार कहाँबाट जुटाउने भन्ने चिन्ताले पिरोल्ने गरेको उनी बताउँछन् । झापाका अधिकांश खेतमा सिँचाइका लागि कुलो र बोरिङको व्यवस्था नभएको हुँदा धान खेती गर्ने किसान अकासे पानीमा निर्भर छन्।

धान उत्पादनका लागि उर्वर भूमि मानिएको झापामा सिँचाइको अभावले पर्याप्त रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सागर विष्टले हालसम्म जिल्लामा २१ प्रतिशत मात्र रोपाइँ भएको बताए। उनले भने, “वर्षा नभएका कारण किसानले पर्याप्त रोपाइँ गर्न पाएका छैनन् । जति रोपाइँ भएको छ, ती सबै कुलो र भूमिगत सिँचाइबाट सम्भव भएको हो।”

कोशी प्रदेशमा जेठ १५ गते नै मनसुन भित्रिएको थियो । मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठुलो वर्षा र बाढी आयो । झापामा माईखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि खेतमा रोपाइँ हुने गरी वर्षा भएको छैन । झापामा खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ। त्यसमध्ये ७५ हजार ५५९।१८ हेक्टरमा धान खेती हुने गरेको विष्टले बताए । छिटो पाक्ने अगुवा धान असारभित्रै रोपिसक्नुपर्ने हुन्छ।

जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायत सिँचाइ आयोजना सञ्चालनमा छन् । कचनकबल, कनकाई, कमल, गौरादह, मेचीनगर, बिर्तामोड, बाह्रदशीलगायत पालिकाका केही जग्गामा भूमिगत सिँचाइको व्यवस्था छ । बाँकी अधिकांश जग्गामा धान खेतीका लागि अकासे पानीको निर्भरता हटेको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad