कारोबार


धितोपत्र बोर्डले सार्वजनिक गर्‍यो ५ प्राथमिकता, के के?

यथाशीघ्र मार्जिन कारोबार, बेन्चमार्क सूचकाङ्क गणना गर्ने व्यवस्था ल्याउने
धितोपत्र बोर्डले सार्वजनिक गर्‍यो ५ प्राथमिकता, के के?

नेपालखबर
असार ३०, २०८३ मंगलबार १८:२३, काठमाडौँ

धितोपत्र बोर्डले सेयरबजार सुधारका लागि ५ वटा प्राथमिकता निर्धारण गरेको छ। 

बोर्डका प्रवक्ता निरञ्जय अधिकारीका अनुसार बोर्डको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमलाई समयबद्ध रुपमा कार्यान्वयन गर्न पाँचवटा कार्यक्रमलाई प्राथमिकता दिन लागिएको हो। 

यसअनुसार बोर्डले धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझबारे अन्तर्निकाय समन्वयलाई प्रभावकारी बनाउने भएको छ। 

लगानीकर्तालाई सुरक्षालाई प्राथमिकता दिई इनफ्लुएन्सरहरूबाट धितोपत्रबजारलाई प्रभावित पार्ने गरी सूचना प्रवाह भएको विषय तथा अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार, सामाजिक सञ्जालबाट हुने बजार प्रभावित गर्ने गतिविधि तथा वित्तीय ठगीविरुद्धका कार्यहरुमाथि प्रभावकारी नियामकीय निगरानी गर्ने बोर्डले जनाएको छ। 

यस्तै, सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन सरोकारवाला पक्षबाट प्राप्त सुझावलाई समेटेर नीतिगत व्यवस्थामा सुधार गरी कम्पनीको वित्तीय एवं व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरी अनुमति दिने व्यवस्था मिलाउने बोर्डले उल्लेख गरेको छ। 

बोर्डबाट मार्जिन कारोबारसम्बन्धी निर्देशिका जारी भइसकेकोमा उक्त कारोबारको कार्यान्वयनको अवस्था तथा सो सञ्चालनमा केही सीमितता देखिएमा बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज लि, सीडीएस एन्ड क्लियरिङ्ग लि तथा धितोपत्र दलाल व्यवसायीबीच समन्वय कायम गरी यथाशीघ्र सञ्चालन व्यवस्था मिलाइने बोर्डको भनाइ छ।  

यसैगरी सूचीकरणपश्चातको कारोबारमा हुने धितोपत्रको माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि र बाँडफाँटसम्बन्धी व्यवस्थालाई पुनरवलोकन गरिने बोर्डले जनाएको छ। 

यस्तै, लगानीकर्ताहरूको कारोबार लागतमा कमी ल्याउने गरी प्राथमिक तथा दोस्रो बजार शूल्कमा पुनरावलोकन गरिनेछ भने नेप्से सूचकाङ्कलाई अल इक्विटी इन्डेक्सको रूपमा कायम राखी कारोबारयोग्य सेयरहरूको आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई बेन्चमार्क सूचकाङ्क गणना गर्ने व्यवस्था मिलाइनेछ। बोर्डका अनुसार सामाजिक सञ्चालको प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)अघि संगठित संस्थाहरूबाट हुने पुँजी संकलन सम्बन्धमा अपनाइएको व्यवहारलाई नियमन व्यवस्था मिलाइने भएको छ। 

उपर्युक्त सुधारका अतिरिक्त नेपालको पुँजी बजारलाई विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरी राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुयाउने दिशातर्फ अग्रसर हुने गरी बोर्डले तयार गरेको आगामी दशकको नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३ र आव २०८३/८४ को पुँजी बजार नीति एवं सोको कार्यान्वयन कार्ययोजना बोर्डको वेबसाईटमार्फत सार्वजनिक गरिने बोर्डले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad