कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशमा आँपको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिने बताएका छन्।
शुक्रबारदेखि काठमाडौँमा सुरु भएको ‘नेपाल म्याङ्गो फेस्ट २०२५’को अवलोकन गर्न पुगेका कृषिमन्त्री अधिकारीले यस्तो बताएका हुन्।
उनले आँपको जात तथा उत्पादन सम्बन्धी वैज्ञानिक अनुसन्धान र क्षेत्रअनुसारको व्यवस्थापन राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसका लागि किसानहरुले समेत सहयोग गर्न जरुरी रहेको बताए। उनले किसानले उत्पादन बढाउन सकेको खण्डमा आयात प्रतिस्थापन गर्न सकिो बताए।
उनले भने, ‘आँपका विरुवाहरूको अनुसन्धान गरेर कहाँ कस्तो आँप फल्छ भनेर व्यवस्थापन गर्नुपर्ने दायित्व राज्यसँग हुन्छ। तर त्यसको व्यवस्थापनमा किसानहरूले पनि चासो राखिदिनुभयो भने आँपको विकासका लागि हामी बाहिर जानुपर्दैन।’
नेपालमा बढ्दो आँपको मागलाई ध्यानमा राख्दै सरकार आँपको उत्पादनमा वृद्धि गर्न दीर्घकालीन योजना बनाइरहेको समेत उनको भनाइ छ।
सो अवसरमा बोल्दै इसिमोडकी मूल्य परिवर्तन विशेषज्ञ अनु जोशी श्रेष्ठले विगत केही वर्षदेखि मधेस प्रदेशलाई आँपको सुपरजोनको रुपमा विकास गर्नको लागि आफूहरु लागिपरेको बताइन्।
मधेस प्रदेशमा आँपको ठूलो सम्भावना भएको भए पनि सरकारले चासो नदिएको कारण समस्या परेको समेत उनको भनाइ छ। श्रेष्ठका अनुसार मधेस प्रदेशमा उत्पादित आँप बजारको समस्याका कारण नेपालीले नै खान नपाएको कारण आफूहरू जागृत भएको बताइन्।
नेपाली आँपको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।
Shares

प्रतिक्रिया