काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘एक वडा, एक नमुना कार्यक्रम’ प्रभावकारी बनेको छ।
यो कार्यक्रमअन्तर्गत यस वर्ष थपिएका वडा नम्बर ११, १९, २०, २३, २५, २८, २८ र ३१ गरी आठ वटा वडामा अहिले सीप विकास तालिम चलिरहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्। उनका अनुसार वडा नम्बर ३, ४ र २२ अहिले स्तरोन्नति सीप विकास तालिम सञ्चालन भइरहेको छ।
कामपामा रहेको ३२ वटा वडामध्ये गएको वर्ष १५ वटा वडामा ‘एक वडा, एक उद्यम कार्यक्रम’ थालिएका थिए। यो वर्ष आठ वटा थपिएपछि २३ वटा वडामा कार्यक्रम सञ्चालन भइरहेको छ र अन्य बाँकी वडामा पनि त्तकाल उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने महानगरको तयारी छ।
यससँगै गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत पनि तालिम चलिरहेका छन्। वडा नम्बर १० मा कुकिङ, हस्तकला र अचार बनाउने तालिम सम्पन्न भएको छ। वडा नम्बर १४ मा अल्लोको झोला र मकैको खोस्टाबाट सामान बनाउने स्तरोन्नति तालिम सञ्चालनमा छ। ‘सामान उत्पादन गर्न जानेपछि बजारीकरणको सिप आवश्यक पर्छ । यसका लागि पहिले तपाईँहरू बजारका लागि पर्याप्त सामान उत्पादन गर्नसक्ने हुनुपर्छ। सामान गुणस्तरीय हुनुपर्छ । यसपछि हामी बजारीकरणमा सहयोग गर्छौँ’, उनले भनिन्।
यो वर्ष थालिएका ११ वटा वडाहरू वडा नम्बर ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन्। यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मरीचरी (मिठाइका परिकार) उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, सचिका (धागो), सुर्के थैली र रिबनका फूल बनाउने, पपेट बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मुकुण्डो तयार गर्ने, बेबीसेट र गाउन सिलाउने, यमरी, फ्रोजन मम सहित खाद्यवस्तु उत्पादन र छालाको जुत्ता तयार गर्ने उद्यम सञ्चालन हुने जनाइएको छ।
यसरी प्रत्येक वडामा उत्पादन गरिएको सामग्रीको बजारीकरण गर्न वडास्तरीय कोसेलीघर स्थापना गरिएको जानकारी दिए। रासस
Shares

प्रतिक्रिया