बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिच फार्म अवलोकन गर्न दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गर्छन्। अस्ट्रिच फार्म अवलोकन गर्न रु १०० को टिकट काट्नुपर्छ।
टिकट काटेर फार्मभित्र पुगेपछि अष्ट्रिचसँग रमाउन पाइन्छ। यहाँ अस्ट्रिच फार्म सञ्चालनपछि पहिले सुनसान रहेको बस्तीमा अहिले चहलपहल शुरु भएको छ। गाउँमा अहिले दैनिक २० देखि २५ आन्तरिक पर्यटक आउँछन्।
खप्तड उद्यम व्यापार केन्द्र (अस्ट्रिच फार्म) का व्यवस्थापक मनिराज जोशीका अनुसार फार्म हेर्न आउनेको घुइँचो लाग्न थालेपछि घरबास (होमस्टे)को व्यापारमा सुधार आएको छ। पाँच बिघा क्षेत्रफल २० वर्षका लागि भाडामा लिएर फार्म सञ्चालन गरिएको छ।
अस्ट्रिच फार्ममा घुमेर निस्किने पर्यटकहरु खानपान र आरामका लागि बाँसले बेरेर निर्माण गरिएका होमस्टेमा पुग्छन्। मौलिक थारू परिकार खान्छन्, आराम गर्छन्।
'नमूना थारू होमस्टेमा आउने पर्यटकले अस्ट्रिच अवलोकन र थारू परिकारको स्वाद पाइरहेका छन्', होमस्टे सञ्चालक बाबुराम चौधरीले भने। अस्ट्रिचको मासु खानेदेखि हेर्न र अध्ययन गर्न विद्यार्थी आउने गरेको जोशी बताउँछन्।
एउटा अस्ट्रिचबाट ८० देखि एक क्विन्टलसम्म मासु उत्पादन हुन्छ। प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएका उनले व्यापारमा कुनै घाटा नलागेको बताए। फार्ममा शुरुमा १५० अस्ट्रिच थिए। अहिले बिक्री भएर २० बाँकी छन्।
चाडपर्व र हिउँदका महिनामा पर्यटकको चाप बढी हुने गर्छ। यतिबेला आन्तरिक पर्यटककै भरमा फार्म र होमस्टे धानिएको जोशी बताउँछन्। सुनसान ठाउँमा अस्ट्रिच पाल्न थालेपछि होमस्टेको सम्भावना देखेर चौधरीले पनि होमस्टे सञ्चालन गरेको हुन्।
होमस्टे शुरु गर्दा कसै कसैले चौधरीलाइ हाँसोका पात्र बनाएका थिए। व्यापार जम्दै गएपछि छिमेकी बुजौना थारू, बालकृष्ण थारू, बुजावन चौधरीले समेत होमस्टे सञ्चालन गरिरहेछन्।
'अब मुक्त कमैयाको गाउँ चम्कियो', होमस्टे सञ्चालक चौधरीले भने, 'चहलपहल र होमस्टेको रौनक बढेपछि नयाँ होमस्टे थपिँदैछन्।'
मेघराज चौधरीले अलपत्र जमीनमा टावरसहितको आधुनिक होमस्टे निर्माण शुरु गरेका छन्। साथी गगन चौधरीको साझेदारीमा झन्डै रु ६० लाख लगानी गरेको उनी बताउँछन्। 'मान्छेको चहलपहल देखेको छु', उनी भन्छन्, 'ठूलो चराले गर्दा होमस्टे फस्टाउन थालेका छन्।'
बाँके निकुञ्ज नजिकै रहेका होमस्टेमा वन्यजन्तु अवलोकन गर्न पाइन्छ।

प्रतिक्रिया